‘जै’ घाँस खेतीबाट रामपुरका किसानले मनग्य आम्दानी गर्दै

पाल्पा । व्यावसायिक जै घाँस खेतीबाट पाल्पा रामपुरका किसानले मनग्य आम्दानी गर्दै आएका छन् ।
कृषि उत्पादन गरेरभन्दा व्यावसायिक पशुपालन गर्दा मनग्य आम्दानी हुने भएपछि यहाँका कृषकहरूले आफ्नो धेरै जस्तो जग्गामा व्यावसायिक रुपमा जै घाँस लगाएर मनग्य आम्दानी गर्दै आएका हुन् । आफ्नै खेतवारीमा उत्पादन गरेको घाँस बढी पोषिलो पनि हुने भएकाले आफूहरूको आकर्षण त्यसतर्फ बढेको कृषकहरूको भनाइ छ ।
तीन वर्ष अघि जै घाँस व्यवसाय थाल्दा रामपुर नगरपालिका ६ की भगवती आचार्यलाई घाँसै बेचेर उतिसाह्रो प्रगति गरौंला भन्ने कल्पनासम्म थिएन । तर घाँस बेचेर आफूले सिर्जना गरेको साम्राज्य देख्दा उनी पुलकित छिन् । अथकको मेहनतले उनलाई जिल्लामै नमुना घाँस उत्पादक किसानको परिचय दिलाएको छ । नामसँगै उनी घाँस बेचेरै लखपतिको लाइनमा छिन् । आचार्यले जै घाँसका बेर्ना वितरणको व्यवसाय थाल्दासम्म पशुपालन फस्टाउँदै गरेको पाल्पामा निजीस्तरमा बेर्नाको स्रोत जिल्लासम्म थिएन । वार्षिक लाखौं रुपैयाँको बेर्ना आवश्यक पर्ने भए पनि त्यसलाई पूर्ति गर्न सरकारी निकायलाई हम्मेहम्मे थियो । त्यस्तो अवस्थामा खेतबारीको कामले कष्टकर जीविका धान्दै आएकी आचार्यलाई कसैले घाँस व्यवसाय गर्न सुझाइदियो । तीन वर्षअघि पाएको त्यो सुझाव नै निम्न आयस्रोत भएकी आचार्यका लागि वरदान सावित भइदियो । अहिले उनी घाँसको बेर्ना बेचेरै वार्षिक ३ लाखसम्म कमाउँछिन् ।
व्यवसायिक रुपमा पशुपालन, कुखुरा पालन तरकारी खेतीबाट आम्दानी गर्ने माध्यम भन्ने सुनेकी भगवतीलाई पनि परम्परागत रुपमा मकै खेती गर्ने खेतमा सहकारीले उन्नत जातको जै घाँस लगाउन भन्दा पत्यारै लागेको थिएन । जब विउ विक्रीबाट दुई लाख हात प¥यो खुसीको कुनै सीमा नरहेको भगवतीले आफ्नो अनुभव सुनाइन् ।
रामपुर नगरपालिकामा व्यवसायिक पशुपालनको सुरुवातसँगसंगै पशुलाई आवश्यक पोषणयुक्त घाँसको व्यवसायिक खेतीको थालनी भएपछि रामपुरका एक सय भन्दा बढी कृषकहरुका लागि जै घाँस यतिखेर प्रमुख नगदेवालीका रुपमा स्थापित हुन पुगेको छ ।
पशुका लागि आवश्यक पोषक तत्व सबै पाइने, दुग्ध उत्पादनमा बृद्धि हुने ,पशुलाई खुवाएर बाँकी रहेको खण्डमा बिउ बनाएर सहकारी सस्थाले प्रति के.जी ७० रुपैयाँका दरले खरिद गर्ने भएकाले यतिखेर रामपुरमा व्यवसायिक घाँस खेतीतर्फ कृषकको आकर्षण बढेको हो । व्यवसायिक पशुपालन गर्ने कृषकहरुलाई अन्य घाँसको तुलनामा जै घाँस अत्यन्त उपयोगी हुन्छ । कात्तिकमा लगाएपछि फागुन चैतसम्मको अवधिमा तीन÷तीन पटकसम्म काट्न सकिने त्यसै माथि पशुका लागि आवश्यक पोषक तत्व पाइने भएकाले यस खेतीतर्फ आकर्षण बढेको कृषक बासुदेव ढुगांनाले आफनो अनुभव सुनाए । पशुपालन व्यवसाय परम्परागत नै थियो जब सहकारीले व्यवसायिकतर्फ कोल्टो फेर्न पर्दछ भन्ने अवधारणा ल्यायो यसले नै कृषकहरुलाई व्यवसायिक पशु फर्मतर्फ आकर्षित गरेको उनको भनाई छ । पशुको भन्दा घाँसको व्यवस्थापन पहिले गर्नु पर्दछ भन्ने लागेर व्यवसायिक घाँस खेतीतर्फ कृषकलाई आकर्षित गरेको सहकारीका अध्यक्ष कृष्ण कुमार अर्याल बताउँछन् । उनी भन्छन् ‘ कृषकलाई पहिला –पहिला बुझाउन कठिन भएको थियो, अहिले भने सबै कृषक उत्साहित हुनुहुन्छ ।’ यहाँ उत्पादित घाँसको बिउ नेपालगञ्ज, दाङ्ग, प्युठान निर्यात गरिन्छ । सहकारीमार्फत बिउको व्यापार वार्षिक रुपमा ३० देखि ४० लाखको हुने गरेको अध्यक्ष अर्यालले बताए । रामपुर तथा गण्डकी बेशीमा मात्र यसको ५ सय रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा खेती गरिएको छ ।