सिंगटी हाइड्रोको आइपीओ भर्ने समय १० गतेसम्म
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत शुक्रवारदेखि प्राथमिक शेयर आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर बजारमा ल्याएको हो । जारी कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।
यसैगरीे २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड सुरक्षित गरिएको छ । २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारण नागरिकहरुले आवेदन दिन सक्नेछन् । तर शुक्रवार खुलेको पहिलो दिनमा नै माग अनुरुपको आवेदन परिसकेको छ ।
न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । शेयर खरिदको समय पर्सी चैत १० गते मंगलवारसम्म सिमा तोकिएको छ । धितोपत्र निष्काशन तथा निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले वितरण गर्दा २ लाख ६९ हजार सय जनालाई मात्रै १० कित्ता शेयर भागमा पर्नेछ । यसकारण आईपीओमा १० कित्ता आवेदन माग गरे पुग्ने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा प्रभु क्यापिटल र नेपाल बंगलादेश क्यापिटल रहेका छन् ।