कोरोना संक्रमित बढ्दै, होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । पछिल्ला केही दिनदेखि छिमेकी मुलुक भारतको जस्तै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा एकै दिन ४४ हजारसम्म संक्रमित थपिएका छन् । तर नेपालमा भने दिनमा झण्डै दुई सयको हारहारीमा संक्रमित हुन थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार १८८ जनामा संक्रमण पुष्टि भएको थियो ।
बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरेना भाइरस संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
बुधबार काठमाडौंमा ५३ जना र कास्कीमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पुनः संक्रमित बढ्दै गएपछि मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’
रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ ।