सिद्धबाबा माविका विद्यार्थीहरू हरित विद्यालय बनाउन अग्रसर
गुल्मीको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयका विद्यार्थीहरू हरित विद्यालय बनाउन अग्रसर भएका छन् । यस विद्यालयमा २०७५ साल देखि इन्टरनेशनल स्कुल अवार्ड (आई.एस.ए) प्रोजेक्ट लागू भएको थियो ।
यस अन्तरगत ‘म मेरो बिरूवासंगै श्वास फेर्छु’ भन्ने शिर्षक प्रोजेक्टमा उनीहरू हरित विद्यालय बनाउन अग्रसर भएका हुन् । कुनै पनि प्राणीलाई बाँच्नका लागि अक्सिजन चाहिन्छ । यसको लागि बिरूवाको संरक्षण र वातावरण हराभरा बनाउन आवश्यक छ ।
सोही अवधारणालाई मध्यजनर गर्दै त्यस विद्यालयका विद्यार्थीहरूले विद्यालयमा आफैले गमला ल्याई विभिन्न प्रजातिका विरूवाहरू लगाएका छन् । यस प्रोजेक्टमा कक्षा ७ र ८ का विद्यार्थीहरू सहभागी भइरहेका छन् । यसमा शिक्षकहरू शान्ति नेपाली, निर्मला अर्याल, बसुन्धरा थापा पनि सहभागी हुनुहुन्छ ।
यतिबेला विद्यालयमा धूपी सल्ला, क्रिसमस–ट्री, मेरी गोल्ड, स्पाइडर प्लान्ट लगायतका बोट विरूवाले विद्यालयको वातावरणलाई नै हराभरा बनाएको छ । ‘यस प्रोजेक्ट अन्तरगत ग्रिन विद्यालय र नगरपालिका भित्रका खाली र सार्वजनिक स्थानहरूमा वृक्षरोपण गरि हराभरा बनाउनु रहेको छ ।’ शिक्षक शान्ति नेपालीले भन्नुभयो ।
विद्यार्थीहरूले आफ्नो जन्मदिनको अवसरमा समेत गमला ल्याई विभिन्न विरूण रोपण गर्दै आएका नेपालीले जानकारी दिनुभयो । यसबाट विद्यार्थीहरूलाई कोरा किताबी ज्ञान भन्दा व्यवहारिक सिकाई पनि हुने भएकाले जीवन उपयोगी भएको उल्लेख गर्नुभयो ।
यसबाट विद्यार्थीहरूलाई जीवन उपयोगी सिकाइसंगै प्रकृतिलाई हराभरा बनाउन ज्ञान, सीपको पनि विकास हुने नेपालीले जानकारी गराउनुभयो । यतिमात्र होइन, विद्यार्थीहरूले यो प्रोजेक्ट अन्तरगत पाकिस्तानका विभिन्न विद्यालयसंगको समन्वयमा एक अर्कोको देशमा भएका बोटबिरूवाहरूको अध्ययन समेत गर्न पाइरहेका छन् । पाकिस्तानको बिरूवा र यहाँको बिरूवाको नाममा भएका फरक लगायतका विषयमा दुवै देशका विद्यार्थीहरूले जान्ने अवसर पाइरहेका छन् ।
आई.एस.ए प्रोजेक्ट अन्तरगत नै यस विद्यालयमा ‘नेपालको संस्कृति, हाम्रो वरिपरिको जडिबुटी, स्वस्थ खाना, फलफूल र तरकारी, अभिवादन शब्दहरू, धार्मिक स्थल रेसुंगा, कफी खेती, प्राङ्गारिक मल, मेरो सीप मेरो पाना, भूकम्प शिक्षा, हाम्रो जीवनमा ज्यामिति’ शिर्षकका प्रोजेक्टहरू सञ्चालन छन् ।