कोइराला परिवारले भन्यौ : ‘हामी एक छौं, एक रहन्छौं’

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको परिवारका तीन सदस्य महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेत्री सुजाता कोइरालाले आसन्न महाधिवेशनमा एक भएर अघि बढ्ने संकेत दिएका छन् ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको जीपी कोइराला फाउन्डेसनले बिहीवार सुनसरीमा आयोजना गरेको फूटबल प्रतियोगिता कार्यक्रममा सहभागी भएका कोइराला परिवारका तीन सदस्यले आफूहरू एक ठाउँमा रहेको र एक ठाउँमै रहने सन्देश दिएका हुन् ।
कोइराला परिवारका यी तीन सददस्यहरुले बेलावेलामा सार्वजनिक कार्यक्रममा भेला भएर एक रहेको सन्देश दिने गरेका छन् । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा शेखर र शशांकले सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् भने सुजाताको पनि त्यो इच्छा देखिन्छ ।
सुजाताले महाधिवेशनमा सभापतिमा लड्ने मन भएपनि मैदानमा उत्रिएकी छैनन् भने शशांक र शेखर कोइराला जिल्ला–जिल्लामा पुगेर कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।
१३ औं महाधिवेशनमा शशांकको लागि महामन्त्रीमा सघाएकाले शेखरले यसपटक आफूलाई सघाउनुपर्ने आशय व्यक्त गर्दै आएका छन् ।
सुनसरीमा आयोजित कार्यक्रममा शेखरले पनि १४ औं महाधिवेशनमा एक भएर अघि बढ्ने बताए भने नेत्री सुजाताले गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको सहमति, सहकार्य र एकताले बल पुग्ने बताइन् ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने तयारी भइरहेको छ ।