अलविदा नवीन्द्रराज जोशी !
काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार निधन भयो । फागुन १४ गते मष्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ५९ वर्षका जोशी इमान्दार र निष्ठावान नेताका रुपमा चिनिन्थे ।
स्वर्गीय जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा राखिएको थियो । श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहितका मन्त्रीहरु, सांसद, काँग्रेस नेता तथा कार्यकर्ता र आफन्तपनि सानेपा पुगेका थिए ।
यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
काँग्रेसले दिवंगत नेता जोशीको सम्मानमा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने भएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो । यस्तै, १७ एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।
तीन दिन शोकसभा बाहेक कार्यक्रम पनि नगर्ने भएको छ । यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने भएको छ ।
को हुन् स्वर्गीय जोशी ?
बुवा गजेन्द्रराज जोशी र आमा गीता जोशीबाट २०१८ साल असार ३ गते काठमाडौंमा जन्मिएका थिए । जोशी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गरेका थिए ।
त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव समेत भएका थिए । उनी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह महामन्त्री र महामन्त्री बनेका थिए । जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्ष पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति प्रवेश गरेका थिए ।
नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर भएका थिए ।
पछि २०५६ सालमा युवा स्वरोजगारका कार्यकारी उपाध्यक्ष (राज्यमन्त्री सरह) भएका थिए । जोशीले त्यसै बखतमा युवा स्वरोजगारका क्षेत्रमा थुप्रै नीतिगत काम गरेका थिए । जोशीले २०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोले र गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरेका थिए ।
जोशीले २०६४, ७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका थिए । उनी पहिलो संविधानसभामा नेपाली काँग्रेस प्रवक्ता र सीमा अध्ययन समितिको संयोजक बनेका थिए ।
दोस्रो संविधानसभामा संविधान जारी भएपछि उद्योग मन्त्री भएका थिए । अबको यात्रा आर्थिक समृद्धि भन्दै जोशीको अथक पहलमा २५ वर्षपछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन नेपालमा आयोजना भएको थियो । मन्त्री हुँदा जोशीले बन्द उद्योग खोलाउने, उद्यमशीलता युवा, उद्योगको विकास लगायत थुप्रै राम्रो काम गरेका थिए ।
उद्योग मन्त्री हुँदा जोशीले रुग्ण र बन्द अवस्थामा रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाएका थिए । उनका पालामा थुप्रै औद्योगिक अवरोधहरू हटाइ कानुनी सुधार पनि गरिएको थियो ।
दुईपटक पार्टी केन्द्रीय सदस्य बनेका जोशी हाल पनि केन्द्रीय सदस्य थिए । आगामी भदौँ ७–१० का लागि निर्धारित पार्टीको १४ औं महाधिवेशनमा पार्टी महामन्त्रीमा उम्मेदवारी दिने गरी गृहकार्य अगाडि बढाइरहेका थिए । मिजासिला, बौद्धिक र क्षमतावान् नेता जोशी नेपाली काँग्रेसमा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित थिए ।