राष्ट्रको आवश्यकता र प्रचण्डको अस्पष्टता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवादमा सम्मानित सर्वोच्च अदालतको फैसलाले हामीलाई पूर्ववत् अवस्थामै फर्काइदिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अदालतको निर्णयले ब्युताइदिएको छ । हामी सर्वोच्चको फैसलालाई सम्मान गर्छौं । तीन वर्ष पहिला पार्टी एकता गर्ने बेलामा एमाले र माओवादी विघटन गरी नेकपा घोषणा गरिएको थियो । त्यतिबेला हामीले त्यो एकतालाई स्वीकार गरी खुशियालीसमेत मनाएका थियौं । अहिले सर्वोच्चले साबिककै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिए पनि हामी विचारमा परिपक्क छौं । हामीले एउटा बोल्ड निर्णय गरेर सम्मानित प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै साथ दिनेछौं । प्रधानमन्त्री ओली समूहमा गएका पूर्वमाओवादीका सबै नेताहरु फर्किनुपर्ने बाध्यता छ भन्ने खालका भ्रमहरु फैलाइएको छ । त्यो बिल्कूल गलत हो । हामी कुनै पनि हालतमा माओवादी केन्द्रमा फर्किनेवाला छैनौं । हामी जहाँ छौं त्यहीं बसेर आफ्नो राजनीतिक गतिविधि अगाडि बढाउँछौं ।
हामी एमालेमा जाने निर्णय गरेको होइन, जहाँ थियौं त्यहीं छौं । सर्वोच्चको फैसलाका कारण अहिले दुई पार्टी बनाइदिएको हो । तर पनि जुन नेतृत्व र विचारलाई समातेर अगाडि बढेका थियौं, त्यसमै छौं । हामी एमालेमा गयौं भन्ने भ्रम नरहोस् ।
हामीले माओवादी केन्द्रबाट चुनाव जितेका थियौं, त्यसैले कतिपयलाई लागेको हुनसक्छ कि पद जोगाउनका लागि माओवादीमै फर्किनुपर्छ । तर हामी पदको लोभी मान्छे होइन । बढीभन्दा बढी माओवादी केन्द्रले कारबाही गर्ला, सांसद पदबाट बर्खास्त गर्ला । हामी पदकै लागि माओवादी केन्द्रमा टाँसिरहने पक्षमा छैनौं । जहाँ छौं त्यहीं दृढ भएर उभिन्छौं ।
त्यसैले हाम्रो प्रदेशसभाको सांसद पद गए पनि कुनै पनि हालतमा माओवादी केन्द्रमा नफर्किने निर्णयमा पुगिसकेका छौं । हाम्रो विधानमा जेसुकै व्यवस्था भएपनि पदको लालच छैन । हिजोको दिनमा कमरेड प्रचण्डलाई नै नेता मानेका थियौं । तर उहाँमा जुन खालको अडान र भिजन हुनुपर्ने थियो, त्यो नदेखिएपछि पनि हामी माओवादीमा फर्किने अवस्था रहेन । माओवादीले मेरो सांसद पद पनि बर्खास्त गरे पनि फर्किनेवाला छैन । जहाँ छौं त्यहीं काम गर्ने निष्कर्षमा पुगेका छौं ।
माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायतका नेताहरुको विचार अलि परिपक्क देखिएन । उहाँहरुले जसरी आफ्नो कित्ताकाट गर्नुभएको थियो त्यसरी नै उहाँहरु अगाडि बढ्न सक्नुभएन । उहाँहरु ढुलमुले किसिमको देखिनुभयो । सर्वोच्चको फैसला आउने बित्तिकै उहाँहरु एमालेमै फर्किनुको एउटा मात्र कारण हो, उहाँहरु पदका लोभी हुनुहुन्छ । उहाँहरु आफ्नो सांसद पद बचाउनकै लागि फेरि एमालेमै फर्किनुभयो । एमालेका सबै फर्किए तर माओवादीका कोही पनि फेरि फर्किएर जानेवाला छैन । पूर्वमाओवादीका साथीहरु एमालेमै बस्ने निष्कर्षमा पुग्ने वातावरण पनि प्रचण्डकै कारण भएको हो । हामीले कम्युनिष्ट विचारधारालाई नै समातेर अगाडि बढ्नेमा दृढ छौं । मेरो पारिवारिक पृष्ठभूमि पनि सूर्य छापमै रहेको छ । तर जनयुद्धका बेला म माओवादीसँग लागें र मेरो मिहेनतकै कारण आज यहाँसम्म आएको छु । संविधानसभाको निर्वाचनमा पनि निर्वाचित भएको थिएँ र प्रदेशसभाको चुनावमा पनि बाराबाट म प्रत्यक्ष निर्वाचित भएको हुँ । मलाई कसैको दया, माया वा आशिर्वादले यहाँसम्म पु¥याएको छैन ।
यो बेला हाम्रो लागि पद ठूलो कुरा होइन, विचार र सिद्धान्त ठूलो कुरा हो । अहिलेको आवश्यकता भनेको कम्युनिष्ट विचारधारालाई कसरी अगाडि बढाउने, देशलाई विकास र समृद्धिको बाटोमा लग्ने हो । म देशको उज्वल भविष्यकै लागि निःशर्तरुपमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिइरहेको छु । प्रधानमन्त्री केपी शर्मा ओलीमा एउटा स्पष्ट भिजन र कार्ययोजना हामीले देखेका छौं । हामी अब एमालेकै नेताको रुपमा कार्य गर्नेछौं ।
हामी एमालेमै बस्ने भइसकेपछि हामीलाई कुन पद दिन्छ भन्ने अपेक्षा गरेका छैनौं । पार्टीले आवश्यकताअनुसार जुन जिम्मेवारी दिन्छ त्यो दृढतापूर्वक पूरा गर्छौं । हामीले पदको आशमा एमालेमा लागेका होइनौं । हामी निःशर्त एमालेमै बस्ने निधो गरेका छौं । भोलिको दिनमा पार्टीले मिहेनतअनुसार आवश्यकता परेको ठाउँमा राम्रो मूल्यांकन गर्छ भन्ने विश्वास छ ।
पूर्वमाओवादीका नेताहरुलाई एमालेमा पद दिन्छ भन्ने खालका भ्रम पनि फैलाइएको छ । कमरेड बादल पनि पदका लागि एमालेमै रहने भन्ने निर्णयमा पुग्नुभएको होइन । अहिलेको विषम् राजनीतिक परिस्थितिमा मुलुकलाई निकास दिनका लागि र देशलाई विकास एवं समृद्धिका लागि हामी लागेका हौं । हाम्रा लागि पद महान् कुरा होइन । हामीले पदका लागि कुनै किसिमको बार्गेनिङ्ग पनि गरेका छैनौं । यो बार्गेनिङ्गका कारण त आज मुलुकमा यस्तो अवस्था सिर्जना भएको हो । पार्टी एकता विरोधी कामहरुका कारण आज पार्टी दुई चिरा भएको हो ।
माओवादीमै फर्किनुस् भनेर हामीलाई फोन आएको आयै छ । हामीलाई धेरै फोन र दबाब आएका छन्, फर्किनुस् भन्ने खालका कुराहरु गरिरहेका छन् । थेगि नसक्ने दबाब आइरहेका छन् । तर म एउटा अडानका साथ दृढ छौं । अब कुनै पनि हालतमा फर्किनेवाला छैन । विचारमा परिपक्क भएर नै हामीले यस्तो निर्णय गरेका छौं । जनयुद्धका बेलामा पनि हामीले एउटा नीति र सिद्धान्तका साथ लागेका थियौं । यदि कसैले धेरै नै दबाब दियो भने त्यसको पनि प्रतिकार गर्ने व्यक्ति हो ज्वाला साह । कुनै हालतमा अब माओवादी म जान सक्दिँन । प्रचण्डले नै फोन गर्नु हुन्छ कि फर्किनुस् कमरेड, तपाइँको उज्जवल भविष्य यतै छ भन्नुहुन्छ ।
कमरेड प्रचण्डमा प्रष्ट अडान देखिएन, देशको आवश्यकता बुझ्नु भएको छैन । कोरोनाले गर्दा पूरा विश्व नै आतंकित थियो र नेपाल पनि त्यसबाट अछुतो थिएन । तर त्यो बेलामा पनि राष्ट्र र जनताभन्दा उहाँले गुटको राजनीतिमा लाग्नुभयो । सरकारले राम्रो काम गर्दा पनि नकारात्मक भ्रम मात्रै फौलाउने, गुटबन्दी सिर्जना गर्ने, व्यक्तिगत स्वार्थलाई बढी प्राथमिकता दिने लगायतका कार्यहरुले गर्दा हामी प्रचण्डसँग बस्ने वातावरण रहेन । प्रचण्डले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि मात्रै एकता गर्नुभएको थियो भन्ने प्रमाणित भएको छ ।
(साह नेकपा एमालकी नेतृ हुन् ।)