गुल्मीको रुद्रावेणीमा
कल्पबासीहरूको स्वास्थ्य परीक्षण
गुल्मीको रुद्रावेणीमा रहेको राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममै पुगि कल्पबासीहरुको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीले ४३ औं नेत्र ज्योति दिवसको अवसरमा सत्यवती गाउँपालिका–१अस्लेवा, रूद्रवेणीधाममा अवस्थित राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममै पुगि त्यहाँ रहेका कल्पबासीहरूको निःशुल्क आँखा जाँच गरिएको थियो ।
दिवसको अवसरमा १२ गते गुल्मी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको नेत्र ज्योति संघले १३ गते रेसुङ्गा नगरपालिका वडा नम्बर १ का जेष्ठ नागरिकहरूको निःशुल्क आँखा जाँच गरेको थियो।
१४ शनिबार तारकेश्वर परमानन्द सन्यास आश्रममै पुगि त्यहाँ रहेका कल्पबासीहरूको निःशुल्क आँखा जाँच गरिएको थियो। सामाजिक उत्तरदायित्वको रुपमा रूद्रवेणी, राम मन्दिरमा रहेका कल्पवासीहरूको निःशुल्क आँखा तथा सुगर जाँच गरि नेत्र ज्योति दिवस मनाइएको सभापति थापाले बताउनुभयो।
आश्रममा रहेका ४४ जनाको निःशुल्क आँखा जाँच गरिएकोमा ४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ। उनीहरूको निःशुल्क मोति विन्दुको शल्यक्रिया गरिने सभापति थापाले बताउनुभयो। सामाजिक संघसंस्थाहरूले करौतीको रूपमा काम गर्नुपर्ने बताउनुभयो। उहाँले नेत्र ज्योति संघद्वारा जिल्लाका विभिन्न स्थानमा गएर शिविर सञ्चालन गर्दै आएको समेत जानकारी गराउनुभयो। यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने थापाले बताउनुभयो।
यस्तै नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी, शाखाले आश्रममा रहेका कल्पवासीहरूको निःशुल्क सुगर, रक्तचाँप परीक्षणसंगै उनीहरूलाई रामनामी खादाद्वारा सम्मान गरेको छ । पेशागत विभिन्न संघसंस्थाहरू स्थापित भएपनि समाजिक कार्य गरी राज्यलाई सहयोग गर्नु सबैको साझा उदेश्य रहेको सभापति अखिलेश्वर प्रसाद पाण्डेले बताउनुभयो ।
नेपाल औषधी व्यवसायी संघ गुल्मीले आश्रममा रहेका कल्पवासीहरूका लागि भोजन गराएको छ । कल्पवासीहरूका लागि आवश्यक पर्ने औषधी आवश्यकता अनुसार उपलब्ध गराउने त्यस संघका अध्यक्ष महेशकुमार श्रेष्ठले बताउनुभयो । साथै नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका नवनिर्वाचित कार्य समितिलाई सोही आश्रममा भव्य रूपमा स्वागत समेत गरेको उहाँले जानकारी दिनुभयो ।
बबिता फर्मा तम्घास गुल्मीका व्यवस्थापक पार्वता थापाले आश्रममा रहेका कल्पवासीहरूका लागि दराज हस्तान्तरण गर्नुभएको थियो । त्यहाँ रहेका कल्पबासीहरूले प्रयोग गर्ने औषधी व्यवस्थापनका लागि सहयोग पु¥याउने उदेश्यले दराज हस्तान्तरण गरेको थापाले बताउनुभयो । नेपाल औषधी व्यवसायी संघ पाल्पाका अध्यक्ष रामलाल श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली लगायतले आश्रमका लागि आवश्यक सहयोगका लागि आफुहरू प्रतिवद्ध रहेको बताउनुभएको थियो ।
गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले आश्रममै आएर गरेको सहयोग तथा सेवाप्रति तीनवटै संघसंस्थाहरूलाई धन्यवाद दिनुभयो । यस आश्रममा अहिले ४५ जना कल्पबासीहरू बस्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगका लागि आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन औषधी व्यवसायी संघ गुल्मीका महासचिव गणेश श्रेष्ठले गर्नुभएको थियो ।
सत्यवती गाउँपालिका रूद्रवेणीमा रहेको राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका कल्पबासीहरूलाई सहयोग पु¥याउने उदेश्यले आश्रममै पुगेर जिल्लामा रहेका नेपाल नेत्र ज्योति संघ, नेपाल हृदयरोग निवारण प्रतिष्ठान र नेपाल औषधी व्यवसायी संघले विभिन्न सहयोगरूपी कार्यक्रम गरेका थिए । आश्रममै आएर गरेको सेवाप्रति कल्पबासीहरु हर्षित भएका छन् ।