भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने

वायु प्रदुषणको प्रभाव

काठमाडौं । सरकारले भोलिदेखि देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने भएको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने सम्भावना बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ ।
जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । वायु प्रदूषितको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ ।
उहाँका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो । तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ ।
प्रदूषित वायुमण्डल सफा हुनका लागि कित वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ अहिले त्यो भएको छैन । धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।
यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन हुन तथा आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ८ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री र सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।