रोहितको खुसी

         
               
         रोहित धेरैजसो विद्यालय ढिलो पुग्थ्यो । बिहानको प्रार्थना सकिएर कक्षामा शिक्षक पसिसकेका हुन्थे । ढिलो हुनाको कारण सोध्दा कहिले खाना ढिलो पाक्यो भन्थ्यो; कहिले घर त कहिले मामाघरबाट आउँदा ढिलो भयो भन्थ्यो । अरू विद्यार्थीभन्दा रोहित पढाइलेखाइमा कमजोर थियो । शिक्षकले पढाउँदा टोल्हाएर बस्थ्यो । गृहकार्य पनि पूरा गरेको हुँदैनथ्यो ।
     रोहितका बुबाआमा छुट्टिएर बसेका ५/६ वर्ष भइसकेको थियो ।उसकी आमा कपडा सिलाउने काम गर्थिन् ।रोहित कहिले आमाकहाँ बस्थ्यो भने कहिले बुबाको घरमा गएर बस्थ्यो । रोहितलाई आफूसँग राख्न उसका आमाबुबा बीच खिचातानी हुन्थ्यो । उसलाई फकाउनका लागि दुवै जना चिजबिजहरू किनिदिने गर्थे ।रोहित त्यो सामान पाउन घुर्क्याउने गर्थ्यो ।सानै हुनाले आमाबुवा बीचको असमझदारीलाई ऊ बुझ्दैनथ्यो । आमाबुवाको व्यवहारबाट रोहित बिग्रदै गएको थियो ।ऊ जिद्दी र अटेरी भएको थियो ।बुवाको घरमा बस्दा आफूले भनेजस्तो नभए आमाकहाँ गएर बस्थ्यो ।उसका बुवा उसलाई आफूसँग राख्नलाई उसका मागहरू पूरा गरिदिन्थे जसका कारण रोहित उन्मत्त भएको थियो ।ऊ पढाइलेखाइमा ध्यान दिँदैनथ्यो ।पढाइमा कमजोर भएकाले बुवाले उसलाई अर्कै विद्यालयमा भर्ना गरिदिए तर उसमा कुनै सुधार आएन ।
     रोहित दुईचार दिन विद्यालय गएन ।शिक्षकले विद्यालयमा हाजिर नहुनाको कारण सोधे ।ऊ सुँक्कसुँक्क गरेर रून थाल्यो ।शिक्षकले फकाएर कारण भन्न लगाए ।उसले रूँदै भन्यो ,” मेरो आमा हिजो जापान जानुभयो ।म उहाँला‌ई पुर्‍याउन एयरपोर्ट गएको थिएँ ।आज बिहान मैले फोन गरेँ ; उठाउनु भएन ।के भयो भनेर मलाई चिन्ता लागिरहेको छ ।”उसको यस्तो जवाफ सुनेर शिक्षक निकै भावुक बने ।शिक्षकले रोहितको कमजोरीको कारण बल्ल थाहा पाए ।रोहितको कुरा सुनेर कक्षाका विद्यार्थीहरूको अनुहार पनि मलिन भयो ।कक्षामा अरू केही विद्यार्थीका बुवाआमा पनि रोजगारीका लागि विदेश गएका थिए ।उनीहरू विद्यालयको छात्रावासमा बसेका थिए ।शिक्षकले उनीहरूलाई देखाएर भने,” हेर त तिमी जस्तै अरू साथीका आमाबुबा पनि उनीहरूसँग छैनन् ;विदेश गएका छन् ।उनीहरू रोएका छैनन् ।पीर गरेका छैनन् ।तिम्री आमा तिम्रै लागि पैसा कमाउन विदेश जानुभएको हो ।धेरै पैसा कमाएर आउनुहुन्छ ।तिमीले राम्ररी पढ्नुपर्छ ।आमालाई खुसी बनाउन राम्रो बानी व्यवहार लिनुपर्छ ।”शिक्षकको कुराबाट रोहितको चित्त बुझेको थियो ।उसको अनुहारमा रून्चे हाँसो देखा पर्यो ।
     रोहितको व्यवहार असामान्य थियो ।ऊ केही कुरा सोचिरहेजस्तो अनि आफ्नै दुनियाँमा हराए जस्तै चुपचाप हुन्थ्यो भने कहिलेकाहीँ धेरै चकचक गर्ने ,रिसाउने,झर्किने र जिद्दी गर्थ्यो ।उसको स्वभावबाट बुवा निकै चिन्तित थिए ।एकातिर छोरालाई सम्हाल्न उनलाई गाह्रो परिरहेको थियो ; अर्कोतिर एक्लो ,सुनसान र उराठलाग्दो जीवनबाट दिक्क भएका थिए ।रोहितका शिक्षकले उसमा मनोवैज्ञानिक असर परेको बताएका थिए ।रोहितका बुवा लाचार थिए ।समस्याको समाधान गर्न उनलाई निकै कठिन भएको थियो ।
     रोहितकी आमाले जापानमा राम्रो काम पाएकी थिइन् ।उनलेे लुगा सिउन जानेकी हुनाले लुगा सिउने कम्पनीमा काम पाएकी थिइन् ।उनको आय निकै राम्रो थियो ।छुट्टीका बेला उनी त्यहाँका विभिन्न ठाउँ घुम्न जान्थिन् तर उनलाई कत्ति पनि रमाइलो लाग्दैनथ्यो ।छोराको सम्झनाले हरपल सताउँथ्यो ।कहिलेकाहीँ डरलाग्दो सपना देख्दा उनी निकै आत्तिन्थिन्।रोहितको जानकारी लिन उनी रोहितको विद्यालयमा शिक्षकलाई फोन गर्थिन् ।रोहितको असामान्य गतिविधि सुन्दा उनलाई चिन्ता लाग्थ्यो ।आफूले गरेको दुःख र मिहिनेत केही काम नलागेको अनुभव हुन्थ्यो ।
     रोहित निकै खुसी र उत्साहित देखिन्छ ।यस्तो हिजोअस्ति कहिल्यै थिएन ।शिक्षक कक्षामा पस्नासाथ अरू साथीसँगै उसले फूर्तिसँग अभिवादन गर्यो ।रोहितको अनुहारमा चमक देखेर शिक्षक छक्क परे ।शिक्षकले सोध्न नपाउँदै झोलाबाट उसले चकलेट झिकेर दियो ।उसले भन्यो ,”हिजो मेरो आमा जापानबाट आउनुभयो ।मलाई धेरै सामान र चकलेट ल्याइदिनुभएको छ।”शिक्षकले उसको खुसीमा साथ दिँदै धन्यवाद दिए ।उसले फुर्किँदै साथीहरूलाई पनि चकलेट दियो ।
     रोहितकी आमा रोहितको प्रगति बारे बुझ्न उसको विद्यालय गइन् ।शिक्षकले उसमा पारिवारिक वातावरणको असर परेको बताए ।रोहितको अवस्थाको दोषी उनलेे आफूलाई ठानिन् ।छोराकै लागि भएपनि श्रीमानसँग मिलेर बस्ने निधो गरिन् ।उनलेे घर पुगेर आफ्नो पतिलाई फोन गरिन् ।धेरै पछि आफूले सोच्दै नसोचेको व्यक्ति पत्नीको फोन आउँदा उनलाई अचम्म र खुसी दुवै भयो ।केही समय दुवै बोल्न सकेनन् ।केही सम्हालिएर रोहितकी आमाले अब सँगै जीवन बिताउने विचार गरेको कुरा बताइन् ।रोहितका बुवाले सहर्ष स्विकारे अनि उनलाई लिन आउने वाचा गरे ।उनलेे आफ्नी पत्नी र छोरालाई लिएर सँगै बस्न थाले ।अचेल रोहितमा निकै परिवर्तन आएको छ ।जाँगरिलो भएको छ ।सबै काम समयमा गर्छ ।सधैं गृहकार्य पूरा गर्छ ।पढाइमा सुधार आएको छ ।परीक्षाको नतिजा आउँदा उसले निकै प्रगति गरेको थियो ।रोहितका आमाबुवालाई विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले पारिवारिक मेलमिलाप र रोहितको राम्रो नतिजा भएकोमा बधाई दिए ।