संसद बैठकमा संसदहरुबीच घोचपेच, अर्को वैठक २३ गते बस्ने
काठमाडौं । आज बसेको प्रतिनिधिसभा वैठकमा सांसदहरुबीच घोचपेच भएको छ । सत्तापक्षीय सांसदहरुले सरकारको कामको उच्च प्रशंसा गरेका छन् भने प्रतिपक्षी दलका सांसदहरुले सरकारको खुलेरै आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको आज दिउँसो बसेको बैठकको विशेष समयमा धारणा राख्दै सांसदहरुले संसद बैठकलाई चुस्त बनाएर अघि बढाउन सुझाव दिएका छन् ।
वैठकमा नेकपा एमालेका सचेतक शान्ता चौधरीले वर्तमान सरकारले इतिहासमै ठूलो काम गरेको बताइन् । विद्रोही पक्षलाई वार्ताको माध्यमद्वारा शान्तिप्रक्रियामा ल्याएर राजनीतिक मूलधारमा ल्याउनु कम उपलब्धि नभएको उनले बताइन् ।
सरकारको राम्रो काममा धन्यवाद दिन नसक्नु गलत भएको भन्दै उनले सरकारले गरेका राम्रो कामलाई आफूले सलाम गर्ने बताइनु ।
नेपाली काँग्रेसका साँसद दिलेन्द्रप्रसाद बडुले सुरक्षा व्यवस्थाबारे जिज्ञासा राख्दै गृह मन्त्रालयले गरेको सुरक्षाको व्यवस्थाबारे जानकारी माग गरेका छन् । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भौतिक आक्रमण हुनसक्ने धारणा राखेको बताउँदै त्यसबारे स्पष्ट पार्नु पर्ने बताए ।
नेकपा ९माओवादी केन्द्र० का देवप्रसाद गुरुङले विधिको शासन कायम गर्न सरकारसँग आग्रह गरेका छन् । संसद बैठकलाई बिजनेस दिनु सरकारको दायित्व भएको भन्दै उनले सरकारले अझै पर्याप्त बिजनेस दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
चैत २३ गतेसम्ममा सरकारले विश्वासको मत लिन नसके वैधानिकतामा प्रश्न उठ्ने ले बताए ।
त्यस्तै जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले कोभिड १९ नियन्त्रणका लागि सरकारले पर्याप्त खोप ल्याउनुपर्ने सुझाव दिएका छन् ।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सांसद रेशम चौधरीलाई रिहाइ गर्ने समाचार बाहिर आइरहेका बेला त्यसबारे जानकारी गराउन सरकारसँग आग्रह गरेकी छिन् ।
राजनीतिक घटना बनाएर माफी दिनु गलत हुने उनले बताएकी छिन् ।
त्यसतै नेमकिपाका सांसद प्रेम सुवालले काठमाडौं उपत्यकालगायत देशभरको वातावरण विग्रेकाले धेरैलाई समस्या परेकाले त्यसको नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको प्रतिनिधिसभा वैठकले नेपाली काँग्रेसका दुई सांसदप्रति शोक प्रस्ताव पारित गरेका छन् । बैठकले नेपाली काँग्रेसका सांसद नविन्दराज जोशी र लक्ष्मीदेवी भण्डारीप्रतिको शोक प्रस्ताव पारित गरेको छ । बैठकले सांसदप्रति मौनधारण गर्दै प्रस्ताव पारित गरेको हो ।
अर्को बैठक २३ गते सोमबार बस्ने छ । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ ।
सरकारको तर्फबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सो प्रतिवेदन बुधबार बसेको संसद बैठकमा प्रस्तुत गरेकी हुन ।
त्यस्तै, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गरेकी छिन् ।
त्यस्तै सभापति खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ बैठकमा पेश गर्नुभयो ।