गठन भएको २४ वर्षपछि वडापत्र जारी गर्दै विमस्टेक
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को वडापत्र चौविस वर्षपछि जारी गर्ने भएको छ । श्रीलंकामा हुने पाँचौ शिखर सम्मेलनमा वडापत्रमा हस्ताक्षर गर्ने १७ औं परराष्ट्रमन्त्री स्तरमा सहभागी सवै सदस्य राष्ट्र सहमत भएका छन् ।
केही दिनअघि भएको मन्त्रिस्तरीय भर्चअल वैठकमा नेपाल, भारत, वंगलादेश, श्रीलंका, थाइल्याण्ड, भुटान र म्यानमारका परराष्ट्रमन्त्री सहभागी थिए । बिमस्टेकको एउटा सदस्य म्यानमारमा सैनिक शासनविरुद्ध प्रदर्शन चर्किरहेको अवस्थामा भएको वैठक त्यसबारे केही कुरा भएन । द्विपक्षीय कुरा नउठाउने विमस्टेकको प्रचलन अनुसार म्यानमारका बारेमा कुनै छलफल नभएको बताइएको । तर विमस्टेकलाई विश्वासिलो बनाउन दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरुले आफ्नो गम्भीर समस्याका बारेमा छलफल गरेर उपाय खोज्नुपर्ने कतिपय कूटनीतिज्ञहरुको तर्क छ ।
सन् २०१८ मा काठमाडौंमा भएको चौथौं शिखर सम्मेलनले गरेका निर्णयलाई आधार मान्दै क्षेत्रीय गतिविधि अघि बढाउन विमस्टेक सदस्य राष्ट्रहरु सहमत देखिएका छन् । विमस्टक क्षेत्र र उपक्षेत्रमा आफ्ना गतिविधि बढाउँदै यातायात सञ्जाल समेत विस्तार गर्ने बताइएको छ ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका केही सदस्य मिलेर बिमस्टेक बनेपनि धेरैले भारतको अगुवाइमा सार्कलाई कमजोर बनाउन विमस्टेक स्थापना गरिएको आरोप लगाउने गरेका छन् । हाल यो संगठनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान छन् । बिमस्टेकको अहिलेको अध्यक्ष श्रीलंका हो भने सन् २०१८ मा नेपालमा चौथोपटक शिखर सम्मेलन भएपछि पाँचौं शिखर सम्मेलन रोकिएको छ ।