नियम उल्लंघन गर्ने प्रधानमन्त्रीलाई दुई लाख ८० हजार जरिवाना !

काठमाडौं । जन्मदिन मनाउँदा नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगलाई करिब दुई लाख ८० हजार नेपाली रुपैयाँ (२० हजार क्रोनर) जरिवाना हुने भएको छ ।
गत फेवु्रअरी २५ का दिन आफ्नो ६०औं जन्मदिन मनाउन आफूसहित १४ जना परिवारिक सदस्यसँग दुई दिनको लागि नर्वेको राजधानी ओस्लो बाहिर होल नगरपालिकामा गएकी थिइन । सोही क्रममा कोरोना रोग नियन्त्रण गर्न नर्वे सरकारले जारी गरेका नियमको उल्लघंन भएको सरकारी संचारमाध्यम एनआरकेले समाचार सार्वजनिक गरेको थियो ।
समाचार सार्वजनिकसँगै प्रहरीले अनुसन्धान थालेको थियो । शुक्रबार अनुसन्धान सम्पन्न गरेर प्रहरीले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री सोल्वेगबाट नियमको उल्लघंन भएको निष्कर्ष निकाल्दै २० हजार क्रोनर जरिवाना हुने निर्णय सुनाएको हो ।
तत्कालीन समयमा जारी नियममा व्यक्तिगत भेटघाट तथा कार्यक्रमको लागि १० जनाभन्दा बढी संख्यामा भेला गर्न नपाउने उल्लख थियो । तोकिएको संख्याभन्दा बढी भेला गरेर व्यक्तिगत कार्यक्रम गरेमा तत्कालीन समयको नियमले २० हजार जरिवाना हुने तोकेको छ ।
प्रधानमन्त्री सोल्वेग आफूसहित १४ जना परिवारिक सदस्य लिएर कोल नगरपालिका पुगे पनि उनी भने सोही दिनै फर्किएकी थिइन । आँखामा समस्या देखिएपछि उपचारको लागि ओस्लो फर्केकी प्रधानमन्त्री सोल्वेग पुनः त्यहाँ पुगिनन् । प्रहरीका अनुसार व्यवस्थापनमा प्रधानमन्त्री सोल्वेगका श्रीमानको भूमिका रहे पनि आयोजक प्रधानमन्त्री सोल्वेग रहेकाले उनलाई नियम अनुसार जरिवाना तोकिएको हो ।
समाचार सार्वजनिकपछि तत्कालै माफी मागेकी प्रधानमन्त्री सोल्वेगले नियमले तोकेको जरिवाना तथा कारबाही भोग्न तयार रहेको बताएकी थिइन ।
नर्वेमा कोरोना संक्रमणको दर बढ्दै गएपछि दोस्रो पटक नोभेम्बरबाट कोरोना नियन्त्रणको मापदण्डहरु लागू गरिएको छ । त्यस यता कोरोना नियन्त्रणको लागि नियमहरु झन कडा बनाउँदै लगेको छ ।