नेपाली काँग्रेसमा सत्ताबारे चर्को मतभेद

देउवा भन्छन्– चुनाव, पौडेलको जोड नयाँ सरकार

काठमाडौं । प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिएका बिपक्षी राजनीतिक दलहरु एक ठाउँमा उभिन किन सकिरहेका छैनन । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक ठहर गर्ने बितिक्कै नयाँ सरकार गठनमा लाग्नुपर्ने भएपनि बिपक्षी दल अर्थात नेपाली काँग्रेसले त्यो हिम्मत नगरेकोमा बरिष्ठ नेता रामचन्द्र पौडलले सभापति देउवाको आलोचना गरेका छन । अहिले पनि नेकपा एमाले नेतृत्वको ओली सरकारलाई बिदा गरेर नयाँ सरकार गठनमा सभापति देउवाले देखाएको अरुचीमा नेताहरुले सभापति देउवाप्रति आशंका गरेका छन ।
बरिष्ठ नेता पौडेल, महामन्त्री शंशाक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंहहरु नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी नेपालसँग मिलेर तत्कालै ओली सरकारलाई बिदा गर्नुपर्ने पक्षमा उभिदै आएका छन । तर सभापति शेर बहादुर देउवा निकट नेताहरु प्रकाशरण महत, पुर्णबहादुर खडका, बिमलेन्द्र निधीहरु भने नयाँ सरकार गठनमा भन्दा पनि ओली सरकारकै नेतृत्वमा चुनावमा जानु उपयुक्त हुने पक्षमा उभिदै आएका छन । ओली सरकारले गरेको प्रतिगमनलाई चुनावी मुद्दा बनाएर निर्वाचनमा जाँदा सजिलैसँग मत परिणाम आफनो पक्षमा आउने उनीहरुको तर्क रहेको छ । त्यसकारण पनि उनीहरु यो सरकारलाई बिस्थापन गर्न भन्दा पनि अर्ली निर्वाचनको कुरा अगाडि सारिरहेका छन ।
सत्तारुढ दल नेकपा एमाले आन्तरिक घर झगडाका कारण फुटको संघारमा छ । अर्को कम्युनिष्ट पार्टी नेकपा माओवादी सांगठनिक रुपमा अत्यन्तै कमजोर भएकोले पनि चुनावमा जाने यो नै उपयुक्त मौका रहेको ठहर देउवाहरुको रहेको छ । तर बरिष्ठ नेता पक्षधर नेताहरु चुनाव प्राबिधिक भएको भन्दै संघीयता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता व्यवस्थालाई धरमरमा पार्ने गतिबिधिमा लागेको बर्तमान सरकारलाई पहिला बिस्थापित गनुपर्नेमा जोडबल लगाइरहेको छ । नयाँ सरकार गठनपश्चात मात्र चुनावमा जानुपर्ने तर्क पौडेल पक्षको रहेको छ । जसरी भएपनि माओवादी केन्द्र र जसपालाई मिलाएर ओलीको सर्वसत्ताबादलाई परास्त गरेर मात्र नेपाली काँग्रेसको नेतृत्वमा चुनाव हुनुपर्ने मत पार्टीमा बलियो छ । तर यी कुरा सुन्न तयार भएपनि देउवा कार्यान्वयन गर्ने पक्षमा भने मौन जस्तै छन ।
पार्टीका नेताहरुको जोडबलकै कारण गत शुक्रवार सभापति देउवाले नयाँ सरकार गठनका लागि बुढानिलकण्ठमा तीन दलको बैठक बोलाएका थिए । नयाँ सरकार गठन बारे बैठकमा छलफल चलाएपनि जसपाले पार्टीभित्र छलफलपछि मात्र निर्णय दिने बताएपछि सरकार गठनको बिषय झन अलमलमा परेको छ ।