बिपक्षी दलहरुको ल्याङ्ल्याङ्ले प्रधानमन्त्री ओली झन शक्तिशाली

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका निलम्वित नेता माधव नेपाल निराश

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दलको भुमिकामा रहेको नेपाली काँग्रेसले नयाँ सरकार गठनमा अग्रसरता नलिदा प्रधानमन्त्री केपी शर्मा ओली झन शक्तिशाली हुँदै गएका छन । सत्तारुढ दल नेकपा एमाले आफनै आन्तरिक झगडाका कारण बिभाजनको डिलमा पुगेको छ । प्रधानमन्त्री ओलीको कार्यशैली बिरुद्धमा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत बहुमत पदाधिकारीहरु खुलेर लागेका छन । आफुलाई पार्टी र सरकारमा सहयोग नगर्ने नेताहरुलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै चार जना नेताहरुलाई साधरण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि पार्टीबाट निष्कासन गरेका छन ।
प्रधानमन्त्री ओलीको यो स्वेच्छाचारी प्रबृति बिरुद्ध नेकपा एमाले पार्टी मात्र होइन कि चारैतिबाट तिब्र रुपमा आलोचना भइरहेको छ । तर पनि प्रधानमन्त्री ओली आजका दिनसम्म टसमस भएको पाइदैन । उनी सकेसम्म पाँचै वर्ष प्रधानमन्त्रीको कुर्सीमा टिकिइरहने दाउमा छन । यदि सत्ताबाट हटनुपरेको खण्डमा पुन चुनावमा जाने उनको भित्रि योजना रहेको छ । उनले चालेका हरेक राजनीतिक कदमको अहिले बिरोध भइरहेको छ । खासगरी गएको ५ पुसमा प्रतिनिधिसभा बिघटन गरेर चुनाव गर्ने सरकारको घोषणाको सर्वत्र आलोचना भइरहेको छ । तर पनि प्रधानमन्त्री ओलीको चाहाना अहिले पनि चुनावतिर नै जाने देखिन्छ । सर्वोच्च अदालतले बैशाखमा गर्ने भनिएको चुनावलाई अकुंश लगाइदिएपछि बर्तमान ओली नेतृत्वको सरकार ढालेर वैकल्पिक सरकार गठन गर्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी नेपाल पार्टी अघि सरेका छन । नयाँ सरकार गठनको पहल स्वरुप गत शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जसपासँगको छलफलमा काँग्रेसले वैकल्पिक सरकार गठनको विकल्प नभएको भन्दै तीन दल मिलेर ओली सरकारलाई बिदा गर्नुपर्ने धारणा अगाडि सारेको छ । तर अहिलेसम्म सभापति देउवाको व्यवहार ओली सरकारप्रति नरम देखिएको आरोप पार्टीभित्र र बाहिरबाट लाग्दै आएको छ । देउवाले नयाँ सरकार गठनका लागि आवश्यक सांसद संख्या आफुहरुसँग नभएकै कारण आफु नहतारिएको बताउँदै आएका छन ।
तर पछिल्लो समयमा भने सभापति देउवाको सक्रियता र अभिव्यक्ति ठिक विपरित देखिएको छ । उनले शुक्रवार तीन दलको बैठक अगाडिको एक कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष प्रचण्डको कडा शव्दमा आलोचना गरेका छन । वैकल्पिक सरकार निर्माणको पहलले गति लिन खोजेको अवस्थामा उनले प्रचण्डको आलोचना किन गरे भन्ने बिषयले चर्चा बुटेलेकोे छ । शुक्रबार नेपाली काँग्रेस निकट निजामति कर्मचारी युनियन संघको कार्यक्रममा देउवाले ओली सरकारको विकल्प खोज्नुपर्ने कडा किसिमको अभिव्यक्ति दिएका थिए । सभापति देउवाले २०७४ को निर्वाचनपछि आफूले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेको खुलासा पनि पनि गरेका छन । तर माओवादीले आफनो कुरा नमान्दा अहिले उनलाई ओलीले धोका मात्र दिएनन कि लात हानेको देउवाले बताएका छन । मैले प्रचण्डलाई तपाईं नै प्रधानमन्त्री बन्नुहोस भनेको तर उनी नेकपा एमालेतिर मिल्न गइदिए । तपाईं नै प्रधानमन्त्री भएर सरकार चलाउनुस नेपाली काँग्रेसले भरपुर सहयोग गर्छ भनेकै हो । तर उनले त्यतिबेला यो कुरा सुन्न नै चाहेनन ।
देउवाको आरोप ः धोकेवाज प्रचण्ड
सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन खोजेको भएपनि उनी इमान्दार नभएको आरोप लगाएका छन । २०७४ को निर्वाचन पछि एमालेलाई सत्तामा जानबाट रोक्न उनलाई प्रधानमन्त्री बनाउन खोजेको तर उनले दह«ोसँग खुट्टै नटेकेको कारण अहिलेको परिस्थिति आएको देउवाले बताएका छन ।
प्रधानमन्त्री ओलीले लात हानेपछि बल्ल उनमा राजनीतिक चेत आएको उनको भनाई छ । देउवाको भनाई छ ‘अहिले म आफू प्राइमिनिस्टर हुन चाहेको पनि छैन, जो सुकै होस, सभापति देउवाको भनाइ छ । शुक्रवारको बूढानीलकण्ठ बैठकमा पनि सुरुमै सभापति देउवाले पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै वैकल्पिक सरकार बनाउनेबारे पहल गर्न माओवादी र जसपालाई आग्रह गरेका थिए । देउवाले पार्टीले काँग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि आफू अरुको नेतृत्वमा सरकार बन्छ भने त्यसमा पनि तयार रहेको धारणा राखेका थिए । तर उक्त छलफलमा जसपाले भने स्पष्टसँग आफनो पार्टीका धारणा राख्न सकेन । नयाँ सरकार गठनबारे प्रस्टरुपमा खुल्न नसकेका सभापति देउवा अब ओली सरकारलाई हटाउनु पर्ने पक्षमा प्रष्टरुपमा उभिएका छन तर जसपाको भनाइ प्रष्ट रुपमा आउन सकिरहेको छैन । जसपाको ग्रीन सिग्नल आएको खण्डमा ओली सरकारको विकल्पमा तत्कालै अर्को सरकार गठन हुने देखिन्छ । यतिबेला सरकार गठनको साँचो बनेर हलो अड्काउने काम जसपाबाट हुँदै आएको बताइन्छ ।
बैठकमा काँग्रेसबाट सभापति देउवासँगै नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ प्रकाश, कृष्णबहादुर महरा, देव गुरुङ जसपाबाट महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ सहभागी थिए । तीनवटै दलका शिर्षस्थ नेताहरु बैठकमा उपस्थित भएपनि नयाँ सरकारबारे प्रष्टरुपमा अवधारणा बाहिर ल्याउन सकेनन । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोहरुको जोडबल ओली सरकारतर्फ नै रहँदै आएको छ । जसका कारण फेरी मुलुक चुनावतिर धकिलिने परिस्थति निर्माण भइरहेको आभास मिलेको छ । खासगरी संसदमा रहेका नेपाली काँग्रेस, माओवादी र जसपाको बिचमा समझदारी जुटन नसक्दा प्रधानमन्त्री ओली थप शक्तिशाली हुँदै गएका छन । नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो र संसदबाट अर्को सरकार बन्न सकेन भने त्यसवेला संसदमा सबैभन्दा ठुलो दलको हैसियतमा प्रधानमन्त्री ओलीले मुलुकलाई चुनावतिर लैजाने छन । एमाले र प्रधानमन्त्री ओलीको अहिलेसम्मको चाहानन पनि यही हो । यही कारण उनले बाराम्वार सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन माओवादीलाई चुनौति दिइरहेका हुन ।