काँग्रेस नेतृत्वमा सरकार गठन गरेर मंसिरमा चुनाव गर्नुपर्छ : नेता कोइराला
कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचन गर्नु पर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने दायित्व कांग्रेसकै भएको पनि बताएका छन् ।
सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको बताउँदै नेता कोइरालाले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए ।
सरकारले विजनेश नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख केही गर्न नसक्ने अवस्थामा रहेकाले संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्वपूर्ण रहेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरेका छन् ।
कांग्रेसका लागि आगामी भदौमा हुने १४औँ महाधिवेशन महत्वपूर्ण र प्राथमिकतामा रहेको बताउँदै नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदबार नहुने पनि स्पष्ट पारेका छन् ।