गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर २ ले ड्राइभिङ तालिम सञ्चालन

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर दुईले युवाहरूलाई लक्ष्यित गरि ड्राइभिङ तालिम सञ्चालन गरेको छ। वडाले आर्थिक वर्ष २०७७/०७८ को युवा स्वरोजगार कार्यक्रम अन्र्तगत ड्राइभिङ तालिम सञ्चालन गरेको हो।

ड्राइभिङ सीप सिक्नका लागि यस वडामा ८१ जनाले निवेदन दिएका थिए। त्यसमध्ये वडाले ७३ जनालाई छनौट गरेको थियो। यसरी छनौट भएकामध्ये ३८ जना महिला र ३५ जना पूरुष रहेका छन्। अहिले सदरमुकाममा रहेको अर्जुन ड्राइभिङ सेन्टरले उनीहरुलाई तालिम दिइरहेको छ। सहभागी मध्ये २३ जनाले स्कुटि र ५० जनाले कार ड्राईभिङ सिकिरहेका छन्।

वडाअध्यक्ष उदय बहादुर थापाले मागको आधारमा यो तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। वडा अध्यक्ष थापाले युवाहरूलाई स्वरोजगारमूखी बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले भन्नुभयो,‘निर्माणाधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थल समयमै सम्पन्न भएर सञ्चालनमा आए रोजगारको पनि बाटो खुल्छ। त्यहाँबाट विभिन्न स्थानमा यात्रुहरुलाई पुर्याउनका लागि युवाहरुलाई ड्राइभिङ तालिम दिएर दक्ष जनशक्ति उत्पादनका लागि वडा कार्यालयले ध्यान दिएको छ।’

तालिम सञ्चालनका लागि वडा कार्यालयले रू २ लाख बजेट विनियोजन गरेको छ। तालिमको औपचारिक कार्यक्रमकाबीच वडाअध्यक्ष थापाले उदघाटन गर्नुभएको थियो। उपभोक्ता समितिका अध्यक्ष सुरेश भण्डारी, वडा सदस्यहरू कृष्णबहादुर थापा, शेर बहादुर विश्वकर्मा, गंगा थापा, नारायणी विक केसी, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख कृष्णप्रसाद आचार्य लगायतको आतिथ्यता रहेको थियो । ट्रार्फिक प्रहरी कार्यालयद्वारा ड्राइभिङ तालिममा सहभागीहरूलाई ट्राफिक नियम सम्बन्धि जानकारी समेत प्रदान गरिएको थियो। उनीहरूले १ महिनासम्म ड्राइभिङ तालिम सिक्ने छन् ।

योग अभ्यास सञ्चालन

वडा कार्यालयको सहजीकरणमा वडाका नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखेर योग सञ्चालन गरेको छ। स्थानीय जनज्योति आमा समुहको भवनमा प्रत्येक दिन विहान ४ बजेदेखि ६ बजेदेखि योग कक्षा सञ्चालन गरिएको वडाअध्यक्ष थापाले जानकारी दिनुभयो। उनीहरूलाई योग प्रशिक्षक अच्युत अर्यालले योग अभ्यास गराइरहनुभएको छ।

संस्कृत कक्षा सञ्चालन गरिने

रेसुङ्गा सामुदायिक अध्ययन केन्द्रसँगको समन्वयमा संस्कृत शिक्षा कक्षा सञ्चालन गर्न लागिएको समेत वडाअध्यक्ष थापाले जानकारी दिनुभयो। संस्कृत शिक्षाको जागरणका लागि १५ दिने संस्कृत शिक्षा सम्बन्धि कक्षा दिनसम्म सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो। यसका लागि १ लाख ६० हजार बजेट वडाले बजेट विनियोजन समेत गरिसकेको छ। साथै वडाले सिलाई कटाई तालिम सञ्चालन गर्न लागिएको समेत वडाअध्यक्ष थापाले जानकारी दिनुभयो ।