प्रदेशसभा अधिवेशन अन्त्य गर्नु राजनीतिक बेइमानी

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रयास भइरहेका बेला प्रदेशसभा अधिवेशन अन्त्य गर्नु राजनीतिक बेइमानी भएको विपक्षी दलका सांसदहरुले दावी गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेका बेला रातारात अधिवेशन नै अन्त्य गरेपछि विपक्षी दलका सांसदहरुले विशेष अधिवेशन बोलाउन समावेदन दिने बताएका छन् ।
नयाँ सरकार गठन गर्न सहमत भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए । तर प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ को मध्यरातबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन ।
वैशाख ६ गतेलाई बैठक बोलाइसकेको अस्वस्थामा अधिवेशन अन्त्य गर्नु राजनीतिक बेइमानी भएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री केपी ओलीकै नक्कल गरेको आरोप लगाएका छन् ।
त्यस्तै जसपा संसदीय दलका नेता हरिशरण आचार्यले संसदीय प्रणालीको नैतिक मूल्यमान्यताको उपहास भएको बताएका छन् । विशेष अधिवेशन बोलाउन समावेदन दिने कि नियमित अधिवेशन कुर्ने भन्ने विषयमा छलफल गर्न सरकार गठनमा लागेका चार दलको बैठक बसेर टुंगो लगाउने बताइएको छ ।