स्वर्गद्वारी नजिकै रुमालेमा जीप दुर्घटनामा ज्यान गुमाएकाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा शोक व्यक्त
प्यूठानको स्वर्गद्वारी नजिकै रुमालेमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक कर्मचारीहरुप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शोक व्यक्त गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जीप बुधबारतम्घास देखि स्वर्गद्वारी जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना हुँदा चालक सहित ५ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङजा जिल्लाका ३८ वर्षीय श्याम न्यौपाने, गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर–३ का २२ वर्षीय चालक केशव कार्की, रेसुङ्गा नगरपालिका वडा नम्बर–७ का ३५ वर्षीय कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी, मालिका गाउँपालिका वडा नम्बर–७ का ३५ वर्षीय यमलाल पन्थीको मृत्यु भएको थियो। अन्य १२ जना घाइते भएका थिए। घाइते ७ जनाको काठमाडौंमा उपचार भइरहेको छ।
बिहिबार मुख्यमन्त्री पोखरेलले शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाउने राष्ट्रसेवक कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवाजनप्रति गहिरो समवेदन व्यक्त गर्नुभएको छ। घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री पोखरेलले बढ्दो सवारी दुर्घटना रोक्न प्रदेश सरकारले सडक सुरक्षा बिशेष अभियान सञ्चालन गरेको बताउनुभएको छ।
सडक सुरक्षा अभियानलाई प्रभावकारी रुपमा सम्पन्न गरि दुर्घटना न्यूनिकरण गर्न सबैको सार्थक सहभागिता आवश्यक उल्लेख गर्नुभएको छ। प्रहरी,यातयात व्यवसायी, यातयात मजदुर, राजनैतिक दल, सञ्चारकर्मी लगायत सरोकारवाला सबैको सहभागिताले सडक सुरक्षा कार्यक्रमलाई सार्थक बनाउन सकिने उहाँको विश्वास रहेको छ। यस अभियानमा एकजुट भई सहभागी हुन सम्र्पूणमा अपिल समेत गर्नुभएको छ।