गुल्मीको रेसुङ्गा नगरपालिका भित्रका
विद्यालयहरु पाँच दिनका लागि बन्द गरिने
गुल्मीको रेसुङ्गा नगरपालिका भित्रका विद्यालयहरु पाँच दिनका लागि बन्द गरिने भएको छ। कोभिड–१९ को संक्रमण विद्यालयस्तरमा फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस नगरपालिका अन्र्तगतका सबै विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर नगर शिक्षा समितिका अध्यक्ष एवम् नगरप्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा आइतबार बसेको बैठकले नगरपालिकाभित्र रहेका सबै विद्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो।
अहिले कोभिड–१९ को संक्रमणको अवस्था, जोखिम विश्लेषण गर्दा स्थिति गीम्भर र जटिल भएको भन्दै यहि बैशाख १३ गते देखी १७ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिनुभयो। शिक्षण सम्बन्धि सबै गतिविधि तत्कालका लागि स्थगित गरिएको ज्ञवालीले जानकारी दिनुभएको छ।
रेसुङ्गा नगरपालिकाभित्र सामुदायिक र संस्थागत गरि ४९ विद्यालय रहेका छन्। ३२ वटा सामुदायिक र संस्थागत १७ वटा विद्यालयमा कुल १२ हजार ६० जना विद्यार्थीहरु अध्ययनरत छन्। सामुदायिक विद्यालयतर्फ ८ हजार ३ सय ६२ र संस्थागत विद्यालयतर्फ ३ हजार ६ सय ९८ जना विद्यार्थी अध्ययनरत रहेका ज्ञवालीले जानकारी दिनुभयो।