गुल्मी प्रहरीले होटल व्यवसायी कुँवरको हत्यामा संलग्नहरुलाई सार्वजनिक
जिल्ला प्रहरी कार्यालय गुल्मीले इस्मा गाउँपालिका–२ का होटल व्यवसायी मोति बहादुर कुँवरको हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको छ। इस्मा गाउँपालिका वडा नम्बर २ का २३ वर्षिय होटल व्यवसायी कुँवरको आफ्नै होटलमा रगताम्य अवस्थामा भेटिएकोमा उपचारको क्रममा गत भदौ २२ गते मृत्यु भएको थियो। कुँवरले वडा नम्बर १ छिनुवाखोलामा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए।
कुवँरको हत्या भएको सात महिना पछि निरन्तर अनुसन्धानबाट हत्यामा संलग्नहरुलाई पत्ता लगाई आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। हत्यामा संलग्न १८ वर्षीय का रमेश कुमाल, १८ वर्षकै गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाल रहेका छन । उनीहरु तिनै जना इस्मा गाउँपालिका वडा नम्बर १ का हुन्। उनीहरुले कुवँरलाई गत भदौ २१ गते आफ्नै होटलमा कुटपिट गरि गम्भीर घाइते बनाएका थिए।
गम्भीर घाइते मोतीवहादुरको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्युु भएको थियोे । लामो समयको अनुसन्धानपछि सफलता प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो।
भट्टराईले भन्नुभयो,‘हामी लामो समय घटनास्थलमा पुग्ने र त्यहाँका स्थानीयवासिहरुसगँ भेटघाट, छलफल गर्ने काम भयो। सात महिनासम्म प्रहरी छिनुवाखोला र इस्मा नपुगेको कुनै दिन खाली भएन।’ भदौ ३ गते तिजको मेला हेर्न जाने क्रममा ३ नै जना प्रतिवादीहरु युवतीसगँ वसेको अवस्थामा मोतीबहादुरले मुखमा लाईट देखाएको बिषयमा झगडा भएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो।
सोही दिन देखि नै कुँवर र प्रतिवादी कुमालहरु बचि झगडा शुरु भएको अनुसन्धानबाट खुल्न आएको भट्टराईले जानकारी दिनुभयो। सोहि झगडाले कुवँरको ज्यान गएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। प्रक्राउ गरि सार्वजनिक गरेका ३ नै जनालाई आइतवार जिल्ला अदालत गुल्मीवाट म्याद थपेर घटनाका बारेमा थप अनुसन्धान अगाडि वढाईएको प्रहरीको भनाई छ।