प्रधानमन्त्री ओली पदमुक्त
कसको नेतृत्वमा बन्ला नयाँ सरकार ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरेका छन् भने १५ जना सांसदहरू तटस्थ बसे । प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थियो भने २७ जना सांसद उपस्थित भएनन् । एमालेको माधवकुमार नेपाल समूह वैठकमा सहभागी नभएको हो ।
संविधानको प्रावधान अनुसार प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । अब नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वको मन्त्रिपरिषद्ले काम चलाउ सरकारको रूपमा काम गर्नेछ ।
तर आजको मतदानको परिणाम हेर्दा विपक्षीहरुको पनि वहुमत पुग्ने सम्भावना न्यून देखिएको छ । जसले गर्दा ठूलो दलको हैसियतमा नयाँ वन्ने सरकारको नेतृत्व पनि ओलीले नै देखिएको छ । यसको संकेत ओलीले आज संसदमा बोल्ने क्रममा पनि गरेका छन् ।