‘कोरोनाबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो’
कोरोना भाइरसबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले बताएको छ ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रियसुसले दैनिक कोरोना संक्रमित बढिरहेको नेपाललाई आपतकालीन सहयोगको आवश्यकता भएको बताएका हुन् ।
भारतमा कोरोनाले चिन्ताजनक अवस्था निम्त्याएको बताउँदै गिब्रियससले भनेका छन्,‘भारतलाई मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता देशहरूलाई पनि आपतकालीन सहयोग आवश्यक छ । त्यहाँ संक्रमित र अस्पताल भर्ना हुनेको संख्या ह्वात्तै बढेका छन् ।’
डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने उनको भनाइ छ ।
नेपालमा यतिबेला दैनिक ८ हजार ५ सयभन्दा बढी संक्रमित थपिरहेका छन् । सोही अवधिमा यहाँ सयभन्दा बढीको ज्यान गइरहेको छ ।
पछिल्लो समय अक्सिजन अभाव भएको भन्दै नेपालका अस्पतालहरुले कोरोना संक्रमितलाई भर्ना लिन मानिरहेका छैनन् ।
यसबीचमा डब्लूएचओले नेपाललाई आपतकालीन सहयोग चाहिएको बताएको छ । कोरोनाको प्रभावबाट जोगिन भन्दै नेपालको राजधानी काठमाडौं लगायत अधिकाँश जिल्लामा निशेधाज्ञा जारी गरिएको छ ।