टर्नुपर्ने संकट स¥यो मात्र, ‘हिपहिप हुर्रे’ भन्न नपाएपछि विपक्षी निराश
काठमाडौं । प्रमुख दलहरुको गतिविधिले नेपाली राजनीतिको भविष्यका बारेमा प्रश्न उठेको छ । पटकपटक सरकार परिवर्तन गर्ने खेलले संसदीय पद्धति नै वदनाम भएको छ भने दलहरुको विश्वसनीयता घटिरहेको छ । यसले गर्दा कुनै पनि बेला गम्भीर सम्वैधानिक संकट उत्पन्न हुने देखिन्छ ।
प्रधानमन्त्री केपी ओली एउटा राजनीतिक दुर्घटनाबाट जोगिए पनि सरकार बनाउने र ढाल्ने क्रम रोकिने देखिँदैन । अन्तिम घडीमा एमालेको माधव नेपाल पक्षधर सांसदहरुलाई रोक्न ओलीले चातर्यु त देखाए तर उनीमाथि लाग्ने गरेका आरोप र अभियोगलाई लिएर आफ्ना कमजोरी सुधारेनन् भने उनले चाहेको ‘अर्ली इलेक्सन’ प्रत्युत्पादक हुन सक्छ । त्यसअघि र पछि पनि एमाले अखण्ड रहन्छ भन्ने प्रत्याभूति दिने अवस्था देखिँदैन ।
यस्तै सत्ताको लोभमा नेपाली कांग्रेसले विश्वसनीयता गुमाइरहेको छ । ताजा जनादेशमा जानुपर्छ र प्रम ओलीले नै सरकार चाउनुपर्छ भन्ने शेरबहादुर देउवाले विगतका वचन बिर्सेर माओवादी केन्द्र, उपेन्द्र यादव–बाबुराम भट्टराई र माधव नेपलासँग मिलेर सत्तालोलुप चरित्र देखाएको विश्लेषकहरुको तर्क छ ।
देउवा उचाइमा पुगेका नेता मात्र होइनन्, प्रमुख प्रतिपक्षी दलका नेता पनि भएकाले उनको अठोट र व्यवहार परिपक्क हुनुपर्छ भन्ने धेरैले सुझाव दिएकै हुन । बिहीबार साँझपख ‘अब नयाँ सरकार बनाउने झन्झट नगरौ’ भनेर देउवाले गरेको हलुको टिप्पणीले एक हप्ता पहिलेसम्म उनले देखाएको परिपक्व व्यवहार छायाँमा परेको छ ।
शेरबहादुर देउवा, माधव नेपाल, पुष्पकमल दाहाल र उपेन्द्र यादवलगायतको ‘फूटवल टीम’ ‘हिपहिप हुर्रे’ भन्ने उत्साहका साथ शिल्ड जित्न आतुर थियो । बिहीबार विहानदेखि घटनाले नयाँ मोड लियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले विष्णु पौडेललाई दूतका रुपमा पठाएर भूलचुक सुधार्ने सन्देश दिए माधव नेपाल समूहलाई । नेपाललगायतका चार जना नेतामाथि गरिएको कार्वाही फिर्ता गर्ने ओलीको निर्णयले माधव नेपाललाई घर फर्किन सजिलो भयो । घर त्यागेर डेरामा बस्न र नयाँ घरजम गर्न तयार भएका नेपाललाई आफ्ना भनिएका धेरै सांसदले साथ नदिने छनक पाएपछि उनी विद्रोह त्यागेर मुल पार्टीको शरणमा पुगे ।
ओलीले माधव नेपालसँग छुट्टै वार्ता गरेपछि ओलीविरोधी मोर्चा त्यागेर माधव नेपाल एमालेमा मिलेर बस्न राजी भए । विगतका कमीकमजोरीको समीक्षा गर्दै आन्तरिक एकता बलियो बनाउन कार्यदल गठन गरिएपछि केन्द्रदेखि वडातहसम्म ध्रुवीकृत एमालेका नेता र कार्यकर्ताहरुबीचको मनको दुरी घटने आशा गरिएको छ ।
ओलीलाई प्रतिशोधको गोली हान्न तयार माधव नेपालले ‘ट्रिगर’ थिचेको भए घटनाले नयाँ मोड लिने थियो । देउवा, दाहाल, खनाल, उपेन्द्र, बाबुरामलगायतका ओली विरोधीहरुले माधव नेपाललाई ‘सार्प सुटर’ मानेर अघि सारेपनि नेपालले आत्मसमर्पण गरेको आरोप लगाइएको छ ।
वालुवाटार ललिता निवास जग्गा घोटालादेखि लिएर अनेकौ नीतिगत निर्णयमा माधव नेपाल मुछिएका छन् । एमाले त्यागेर ‘माले’ दल खोल्दा वामदेव गौतमको अक्सिजन घटेर झण्डै ढलेको र एमाले त्यागेपछि पार्टीका तत्कालिन उपाध्यक्ष अशोक राईलगायतले पश्चात गर्नुपरेको पीडा नजिकबाट देखेका माधवले ओलीलाई समर्थन गर्दा ‘परोपकार’ होइन, आफ्नै भविष्य समेत सुरक्षित हुने ठानेको देखिन्छ ।
तर पछिल्लो घटनाक्रमले एमालेभित्रको कचिंगल टुंगिन्छ भन्ने कुरामा ढुक्क हुन सकिदैन । एक महिनाभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत जुटाउनु पर्ने वाध्यता छ । ‘रात रहे अग्राख पलाए’ भने जस्तो अहिलेको आगो निभेपनि पुनः सल्किन सक्छ । संसदीय चुनावमा जानैपर्छ भनिरहेका प्रम ओलीले त्यो बेला कठोर कदम चाल्ने सम्भावना हुन्छ ।
विपक्षीको गठवन्धनले वहुमत पुर्याउन नसकेपछि शुक्रबार बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) का नेताहरुले पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेका छन् । तीन दलका नेताहरुको बैठकले अब केपी ओलीले संसद विघटन गर्न सक्ने विश्लेषण गर्दै तीन दलीय सहकार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
काँग्रेस सभापति देउवाको निवासमा भएको छलफलमा सभापति देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो ।
ओलीले विश्वासको मत लिनका लागि जेठ अन्तिमसम्म नकुर्ने उनीहरुको विश्लेषण छ । ओलीले जेठको पहिलो साता नै संसद अधिवेशन बोलाउने र बहुमत नपाए धारा ७६ (५) मै नगई संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउँने उनीहरुको आशंका छ ।
ओलीको चाहना आफ्नो सरकारलाई बहुमत जुटोस् भन्ने भन्दा पनि बहुमत जुटेन भन्ने देखाएर संसद विघटन गरी मध्यावधि चुनावतिर जाने रहेको विपक्षी नेताहरुको आँकलन छ । तर प्रधानमन्त्री निकट स्रोतका अनुसार ओलीले एमालेलाई सिंगो राख्ने र जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहको समर्थनमा वहुमत पुर्याउने र सरकारलाई दुई टिकाउने रणनीतिमा रहेका छन् ।
विपक्षी गठबन्धनको बहुमत नजुट्नुमा विदेशी चलखेल पनि जिम्मेवार रहेको र माधव नेपालले समेत धोका दिएको नेताहरुको निश्कर्ष छ । यद्यपि माधव नेपाल र महन्थ ठाकुरसँग सम्वाद जारी राख्न नेताहरु सहमत भएको बताइएको छ ।
विदेशी शक्तिहरुले दिएको आदेश पालना गरेर राजनीतिक दलहरुले राष्ट्रलाई अस्थिरतातर्फ धकेल्दैछन् भनेर आरोप लगाउनेहरुले ओली विरोधी नेताहरुको उच्च मूल्यांकन गर्न सक्ने आधार समाप्त पारिरहेका छन् । नेताहरुले जनविश्वास गुमाइरहे भने दलहरुको हारजितले राष्ट्रलाई रसातलमा पुर्याउने देखिन्छ ।