माधव समूहलाई अल्मल्याउन कार्यदल, एमालेभित्रको बिवाद साँच्चै हल होला ?

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीचको छलफलले संस्थापन र असन्तुष्ट पक्षका पाँच/पाँच जना नेता रहेको कार्यदल गठन गरेको हो ।
कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने असन्तुष्ट पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।
कार्यदल विवाद समाधानको खाका बनाउन तीन दिनको समय दिइएको बताइएको छ । गएको २३ फागुनमा सर्वोच्च अदालतबाट आएको फैसलासँगै सत्तारुढ नेकपा एमालेभित्रको विवाद चर्केर समानान्तर पार्टी कमिटीहरु गठन भई रहेका छन । पार्टी भित्र चर्केको विवाद समाधानका लागि २७ बैशाखमा दुई नेताबिच सहमति भएसँगै ठोस प्रस्ताव तयार गर्न कार्यदल गठन हुने भएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार भएको भन्दै त्यसको कार्यान्वयनका लागि कार्यदल बनाउन लागिएको बताइएको छ । प्रधानमन्त्री ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बैशाख २७ गते बिहीबार भएको छलफलमा १० सदस्यीय कार्यदल बनाउने र त्यसैको सुझावका आधारमा पार्टीभित्रको विवाद सुल्झाउने सहमति भएको बताइएको छ ।
मुख्य दुई नेताबिच सहमति भएको भोलिपल्ट शुक्रबार साँझ सिंहदरबारमा दुई पक्षका नेताहरुले तीन घण्टासम्म सामुहिक वार्ता गरेका थिए । सो वार्तामा अध्यक्ष ओलीले पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन तयार भएको नेपालसमुहमा रहेका नेताहरुको बुझाई र प्रतिक्रिया रहेको छ । फुटको डिलमा पुगेको एमालेमा पछिल्लो प्रयासले पार्टीका कतिपय नेता–कार्यकर्तालाई विभाजन टर्यो भन्ने लागेपनि कतिपयले चाहिँ यसलाई विवाद पछाडि धकेल्ने चालबाजीका रुपमा बुझेका छन ।

ओली जव्वर प्रधानमन्त्री !
एमालेमा मात्रै होइन, यसअघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदा पनि पार्टीमा देखिएका समस्या समाधान गर्न यस्तै कार्यदल बनेको थियो । नेता विष्णु पौडेल र रामबहादुर थापाको नेतृत्वमा दुईवटा कार्यदल बनेका थिए । ती दुवै कार्यदलले मिहिनेत गरेर प्रतिवेदन तयार पारे पनि कार्यदलको सुझावलाई कार्यान्वयन गर्न नेतृत्व तहले नै अनिच्छा प्रकट गर्दा पटक–पटक विवाद दोहरिरह्यो । अर्थात अध्यक्ष ओली कार्यदल गठन गर्न तयार हुने र त्यसले दिएको सुझावलाई तत्याउने जव्वर प्रधानमन्त्रीमा दरिएका छन । अहिले पनि त्यस्तो नियति एमाले नदोहोरिला भन्न सकिने अवस्था छैन ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि गत भदौ महिनामा नेता विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाइएको थियो । जसले पार्टीभित्रको विवाद समाधानको सूत्र पहिल्याउने र सोहीअनुसार विवाद समाधान गर्ने भनिएको थियो । उक्त कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए । कार्यदलले झण्डै एक महिना लगाएर मिहेनतकासाथ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न अध्यक्ष ओली तयार देखिएनन । त्यसपछि नेकपाको विवाद थप चुलिँदै गयो र पार्टी एकता नै भंग हुन पुग्यो ।
यसैबिच एमसीसी कार्यदलको प्रतिवेदन पनि प्रधानमन्त्री ओलीद्वारा कार्यान्वयन भएन । नेकपा पार्टी एकीकृत भएकै बेला २०७६ सालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनेको थियो । उक्त कार्यदलमा रहेका खनाल, भीम रावल र प्रदीप ज्ञवाली तीनैजना अहिले एमालेमै छन् । तर, उनीहरुले बुझाएको प्रतिवेदन प्रधानमन्त्री ओलीले रुचाएनन ।
एमसीसी अध्ययनसम्बन्धी कार्यदलले २०७६ फागुन ९ गते केपी ओली र प्रचण्डलाई बुझाएको प्रतिवेदनमा एमसीसीका केही बुँदाहरु संशोधन गरेर मात्रै संसदबाट अनुमोदन गर्नुपर्ने सुझाव दिएको थियो । सो कार्यदलको सुझाव अहिलेसम्म अलपत्र अवस्थामा छ । एमसीसी संसदवाट पारित हुन नसक्ने देखेपछि प्रधानमन्त्री ओलीले गएको ५ पुसमा संसद नै बिघटन गरिदिए । तर सर्वोच्च अदालतले ११ फागुनमा संसद पुर्नस्थापना गरिदियो । यो सँगै एमसीसी पनि चर्चामा आएको छ ।