२८ औँ मदन–आश्रित स्मृति दिवस मनाइयो

काठमाडौँ । आज २८ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले विभिन्न कार्यक्रम गरि मनाएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको पुरानो मुख्यालयमा पुगेर जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
उपप्रधानमन्त्री तथा पार्टी महासचिव ईश्वर पोखरेल, पार्टी नेता वामदेव गौतम, घनश्याम भुसाल, सुवास नेम्बाङ, गृहमन्त्री रामबहादुर थापालगायत नेताले एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितप्रति पनि श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
स्मृति दिवसको दिन हरेक वर्ष दलले मदननगर बल्खुमा कार्यक्रम गर्दै आए पनि यसपटक कोरोना भाइरसका कारण पार्टीका शीर्ष नेता मात्र उपस्थित भई भण्डारी–आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
त्यस्तै दासढुङ्गामा औपचारिक कार्यक्रम नभए पनि उहाँहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको हो । एमाले जिल्ला कमिटीले बिहान भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा रहेको नेताद्वयको सालिकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जलि व्यक्त गरेको छ । कोभिड कहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिए पनि नेताहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको एमाले जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभयो । उहाँका अनुसार न्यून सङ्ख्यामा पार्टीका नेता तथा जनप्रतिनिधिको उपस्थितिमा श्रद्धाञ्जलि व्यक्त गरिएको हो ।
यसैगरी मदन भण्डारी फाउन्डेशनले पनि श्रद्धाञ्जलि व्यक्त गरेको छ । फाउन्डेशनका वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, जिल्ला सहसचिव तिलक रिमाल लगायतको उपस्थितिमा नेताद्वयको सालिकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारण गरिएको हो ।
विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो । आश्रितको शव सोही दिन दासढुङ्गास्थित त्रिशूली नदीमा फेला परेको थियो भने भण्डारीको शव जिल्लाकै गाजिपुरस्थित नारायणी नदीमा तीन दिनपछि फेला परेको थियो ।
फाउन्डेशनले दासढुङ्गा र गाजिपुरको विकासका लागि पहल गर्दै आएको छ । यी दुवै ठाउँलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न विभिन्न निर्माणका काम भइरहेका छन् ।