संसद सचिवालयमा जसपाका दुई पत्र : संसदीय दलको नेतामा महतो चयन : ठाकुर, मान्यता नदिनु् : यादव
काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार संसद सचिवालयमा पठाएका थिए । संसद सचिवालयले उक्त पत्र दर्ता गरेको छ ।
केही दिनअघि जसपाका ३४ मध्ये २१ सांसद सहभागी बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त निर्णयको विरोध गर्दै आएका अध्यक्ष उपेन्द्र यादवले आजै संसद सचिवालयलाई पत्र पठाएर महतोलाई मान्यता नदिनु भनेका छन् ।
यादवले जसपाबाट अहिलेसम्म कोही पनि संसदीय दलको नेता चयन नभएको जानकारी संसद सचिवालयलाई दिएका छन् ।
जसपाका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेता चयन गरिएको भनी संसद सचिवालयमा पत्र दर्ता भएको केहिबेरपछि यादव पक्षले सो रोक्नका लागि पहिले नै अर्को पत्र दर्ता गराएको हो ।
जसपा नेता मोहम्मद इस्तियाक राईका अनुसार बैशाख ३० गते एक पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको खबर सार्वजनिक भएपछि आफूहरुले सो पत्र जेठ २ गते नै संसद सचिवालयमा बुझाएको बताएका छन्।
आज मात्रै जसपाका अध्यक्षद्वय ठाकुर र यादवले पार्टी एकतालाई बलियो बनाउने भन्दै आठ वुँदे सहमति गरेका थिए । तर उनीहरुको सहमति केहीवेर पनि टिक्न सकेन ।