प्रतिनिधिसभा विघटनको विपक्षमा उभिन पत्रकार महासंघको अपील

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भन्दै त्यसको विपक्षमा उभिन आम पत्रकारहरुलाई अपील गरेको छ । महासंघले संविधानमाथि निर्मम प्रहार रोक्नका लागि प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न सबैमा अपिल गरेको हो ।
प्रतिनिधिसभा विघटन गर्ने निर्णयले देशलाई गम्भीर संकटमा पारेको भन्दै महासंघले राष्ट्रपतिबाट संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदारहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको जनाएको छ । महासंघले जनतालाई संविधान प्रतिकूल चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार, अस्पतालमा बेड र अक्सिजन चाहिएको अवस्थामा मध्यरातमा चुनावको सिफारिस गर्नु जालझेल पूर्ण कदम भएको आरोप लगाएको छ ।