वादल पराजीत हुँदा १४ प्रदेश सांसद निशानामा

हेटौडा । राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा वादल पराजीत हुँदा पार्टीका १४ जना प्रदेश सांसद कारवाहीमा पर्ने भएका छन् ।
पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोप लगाएर प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिएका छन् ।
बोर्ड बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ । स्पष्टिकरण चित्तबुझ्दो नभए कारवाही गर्ने चेतावनी पनि दिइएको छ ।
सत्तारुढ नेकपा एमालेका आधिकारीक उम्मेदवार ‘बादल’ लाई पराजीत गर्दै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा चयन भएका थिए ।
देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय ५ मतमध्ये ५८ मत प्राप्त गर्दा थापाले ४५ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गरेका छन् ।
देवकोटाले स्थानीय तहतर्फ कुल दुई सय ३३ मत खसेकोमा १२८ मत प्राप्त गरेका थिए । थापाले एक सय तीन मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवार तामाङले दुई मत प्राप्त गरेका थिए ।
तीन वर्षअघि तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेशसँगै उनको पूर्वपार्टी माओवादी केन्द्रले उनलाई सांसद पदबाट हटाएको थियो । सोही रिक्त पदका लागि भएको निर्वाचनमा बादल गृहमन्त्रीको हैसियतमा पुनः उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको थियो ।
एमालेनिकट डा. देवकोटाले भने स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी बागमती प्रदेशमा नीति आयोग उपाध्यक्ष थिए । उनलाई एमालेभित्र माधव नेपाल समूहसहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।
देवकोटाको कार्यकाल भने तीन वर्षमात्र रहनेछ । राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्ष रहने भए पनि पहिलोपटक गोलाप्रथा गरिँदा बादलले ६ वर्षे कार्यकाल पाएका थिए । जसमध्ये उनले तीन वर्ष व्यतित गरिसकेका छन् भने बाँकी तीन वर्षका लागि देवकोटा विजयी भएका हुन् ।