संसद विघटनविरुद्धका मुद्दामा संवैधानिक इजलासमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा पठाइने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल एकल इजलासमा प्रतिनिधिसभा सम्बन्धी रिटको सुनुवाइपछि सबै निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश भएको हो ।
आज भएको बहस सकिएपछि प्रधानन्यायाधीशले सबै १९ वटा रिट संवैधानिक इजलासमा पठाइने बताउनुभयो । बजेट आउँछ आउँदैन थाहा नभएको अवस्थामा आन्तरिम आदेश दिन नपरेको बताउँदै उहाँले सबै रिट अब संवैधानिक इजलासमा सुनुवाइ हुने बताउनुभयो ।
रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न र देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश समेत माग गरेका थिए ।
देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदले दायर गरेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुँदैछ ।