नागरिकता अध्यादेशविरुद्धको रिटमाथि बहस हेर्दाहेर्दैमा
अर्को पेसी २७ गते
काठमाडौं । नागरिकता अध्यादेशविरुद्धको रिटमा आज सर्वोच्चको सम्वैधानिक इजलासमा वहस भएको छ । आज तीनवटा रिटमाथि मात्रै बहस सकिएपछि बाँकीलाई हेर्दा हेर्दैमा राखिएको छ। बाँकी तीनवटा रिट निवेदकका तर्फबाट २७ गते बहस हुने बताइएकोछ । आज वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाहीसहितले दायर गरेका तीनवटा रिट निवेदकका तर्फबाट बालकृष्ण न्यौपाने, वोर्णबहादुर कार्की, सुरेन्द्र भण्डारी लगायत १३ जना अधिवक्ताले बहस गरेको बताइएको छ ।
कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीलगायतले दायर गरेको रिटमा २७ गते सुनुवाइ हुने बताइएको छ।
आइतबारलाई संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी मुद्दाको पेशी तोकिएकाले यो मुद्दाको सुनुवाइ पछाडि धकेलिएको बताइएको छ ।
संसद् विघटनलगत्तै राष्ट्रपतिले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश संविधानको धारा ११ को उपधारा २, ३, ५ सँग बाझिएको निवेदकको तर्क छ।
अध्यादेशसम्बन्धी व्यवस्था संविधानको धारा १७४ मा छ । उक्त व्यवस्थाअनुसार दुवै सदन नभएको बेला तत्काल केही गर्न आवश्यक भए मात्रै अध्यादेश जारी गर्न सकिने भए पनि अहिलेको आवश्यकता नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नु नभएको अधिवक्ताहरुको तर्क गरेका छन् ।
यस रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । आज गठित इजलासमा जबराले आफूसहित दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई संवैधानिक इजलासमा राखेका हुन् । विश्वम्भर श्रेष्ठ अस्वस्थ रहेका कारण उनको ठाउँमा ईश्वरप्रसाद खतिवडालाई ल्याइएको बताइएको छ।
आजकै इजलासमा रहेका न्यायाधीश संसद विघटनको मुद्दा हेर्ने इजलासमा रहने/नरहने निश्चित छैन।