पार्टीको निर्देशन नमान्ने सुदूरपश्चिमका १७ प्रदेश सदस्यलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौं । पार्टीको निर्देशनविपरित सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले १७ जना प्रदेश सांसददलाई स्पष्टीकरण सोधेको छ ।
उनीहरुलाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिएका छन् । स्पष्टीकरणको बोधार्थ एमाले केन्द्रीय कार्यालयमा समेत दिइएको छ ।
उनीहरुलाई पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने भनिएको छ ।
माओवादीका नेता मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदा माधव नेपाल पक्षका १७ सांसदले मत दिएपछि उनकोको पद जोगिएको थियो । यसअघि माधव पक्षले भट्टलाई मत नदिने ओली पक्षका ७ सांसदलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
एमालेका सवै सांसदहरु एक ठाउँ भएका भए सुदूरपश्चिममा एमालेकै नेतृत्वमा सरकार बन्ने थियो । तर एमालेको केन्द्रमा भएको विवादले त्यहाँ पनि विभाजन आउँदा सूदुरपश्चिम प्रदेशको नेतृत्व गर्ने अवसर गुमेको छ ।