यांग्री र लार्के खोलाको पानी ल्याउने कार्य सुरु गर्न प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलाको पानी ल्याउन समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिनुभएको छ ।
आज खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
हाल मेलम्चीबाट न्युनतम् प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका यांग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
याङ्ग्री र लार्केको पानी ल्याएपछि उपत्यकामा थप हुन जाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने बताइएको छ ।
प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न दिर्देशन दिनुभएको हो ।
गत चैत २१ गते औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएपछि राजधानीबासिको लामो समय अघिदेखिको सपना पूरा भएको छ । प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने बताइएको छ ।
अब सुरुङलाई पूरै खाली गर्न करिब १० दिन, परिक्षणका लागि केही दिन र पुरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने आयोजनाले जनाएको छ ।
त्यसअवधिका लागि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचना अनुसार पानी वितरण गरिने जानकारी मन्त्रालयका अधिकारीहरुले दिएका छन् । वर्षा सुरु भएपछि करिब ४ करोड लिटर थपिने भएकोले अहिलेकै क्षमतामा पनि राम्रैसँग चलाउन सकिने मन्त्रालयका एक अधिकारीले बताएका छन् ।