मैले दिएको मात्र छु, कसैसँग लिन र हात थाप्न जानेको छैन
– चन्द्रकान्त चौधरी, राज्यमन्त्री, उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय
गणतन्त्रबादी नेता स्व. रामराजाप्रसाद सिंहदेखि गजेन्द्रनारायण सिंह जस्ता निष्ठावान र आदर्शवादी राजनीतिज्ञ जन्माउने जिल्ला हो सप्तरी । यही जिल्ला ७५ बर्ष अगाडि जन्मेर भरखरै बर्तमान सरकारमा उर्जा, जलश्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त हुने सौभाग्य पाएका छन्, जेष्ठ नागरिक चन्द्रकान्त चौधरीले । २०१८ सालदेखि उनी राजनीतिमा सक्रिय रहेका छन् । राजनीतिलाई कमाउने भाँडो बनाउने नेताहरुको अगाडि उनी आदर्शवादी नेताको रुपमा छुट्टै पहिचान बनाउन सफल छन् ।
सप्तरीका आमजनताले उनलाई आदर्शबादी र समाजसेवी नेताको रुपमा चिन्ने गर्दछन् । उनको परिवार पंचायतकालदेखि नै प्रजातन्त्रको पक्षमा उभिएको उनी र उनको परिवारलाई नजिकबाट चिन्नेहरु बताउँछन् । राजनीतिलाई भ¥याङ बनाएर नेपाली जनतालाई दुहोनो गाई बनाउने राजनीतिक दल र तिनका नेताहरुको सामुन्नेमा उनी समाजसेवी नेताको अग्रपंङितमा नाम लेखाउन सफल छन् । पंचायतकालभर उनी तत्कालीन पातो गाउँपंचायतको प्रधानपंच भएर काम गरे । ०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि पनि उनी निरन्तर जनप्रतिनिधिमा निर्वाचित हुन सफल भइरहे । यो उमेरमा पनि राजनीति र समाजसेवामा उतिक्कै सक्रिय चौधरीले सामाजिक कार्यहरुमा त्यतिकै तत्परता देखाउने गरेका छन् । उनले बिभिन्न सरकारी अड्डाहरुका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सडकका लागि आवश्यक पूर्वाधारहरु निर्माणका लागि मन फुकाएर जग्गा दान गरेका छन् । गाउँमा हाटबजार, प्रहरी चौकी र कलेज स्थापनाको लागि सयौं बिगाहा जमिन निःशुल्क रुपमा दिएर दानवीर चौधरीको उपमाको पहिचान बनाएका छन् । ०७४ सालमा भएको आमनिर्वाचनमा सप्तरी क्षेत्र नम्वर ३ बाट चुनाव जितेर सांसद बनेपनि संसद बिघटन पछि मात्र मन्त्री हुने अवसर उनलाई मिलेको छ । चौधरी राज्यमन्त्रीमा नियुक्त भएसंगै उनीसँग रेसुङ्गा टुडे सप्ताहिकले गरेको कुराकानीको मुख्य अंश :
० तपाईं राजनीतिमा कहिलेदेखि सक्रिय हुनुहुन्छ ?
– मैले २०१८ सालदेखि राजनीति शुरु गरेको हो । त्यसवेला मुलुकमा पंचायती व्यवस्था सक्रिय थियो । त्यही समयमा म गाउँको राजनीतिमा लागेको हुँ । पंचायतकालभर म तत्कालीन पातो गाउँपंचायतको प्रधानपंच भएँ । अहिले यो डाक्नेश्वरी नगरपालिका भएको छ । मेरो बुवा पनि राजनीतिमा आस्थावान हुनुहुन्थ्यो । मुलुकमा प्रजातन्त्र ल्याउनको लागि ०४ सालदेखि ०४६ सम्म बिभिन्न किसिमले हाम्रो परिवारले निरन्तर सघाउ पु¥याएको थियो । यसकारण मुलुकमा बहुदलीय व्यवस्था आएपछि म पनि नेपाली काँग्रेस पार्टीमा आवद्ध भएँ । म बुबाकै प्रेरणाबाट सो पार्टीमा लागेको हुँ । मुलुकमा पंचायत व्यवस्था हुँदा पनि हाम्रो आस्था भने प्रजातन्त्रप्रति नै रहँदै आएको थियो । नेपाली काँग्रेसलाई नै निरन्तर सहयोग गरिरहेको पनि हो । प्रजातन्त्र स्थापनापछि पनि म सोही गाबिसको अध्यक्ष भएर निरन्तर सेवा गरिरहेँ ।
० नेपाली काँग्रेसमा सक्रिय मान्छे किन गएको चुनावमा पार्टी परिवर्तन गरेर चुनाव लड्नुभयो ?
– यसको पनि लामै राजनीतिक इतिहास छ । ०४६ पछि म नेपाली काँग्रेसको तर्फबाट राजनीति गर्दै आएको भएपनि पछिल्लो पटक मलाई उसले बिश्वासमा लिन सकेन । त्यसकारण म समाजबादी फोरमतिर लागे । त्यसपश्चात मेरो नाममा आएको टिकट खोस्ने काम पार्टीका नेताहरुबाट नै भयो । यत्रो बर्षसम्म निरन्तर र सक्रिय राजनीति गरेको मानिसलाई टिकट नदिएपछि ०७४ मा भएको आम चुनाव हुनु अगाडि स्थानीय निर्वाचनमा म स्वतन्त्र भएर उभिए । त्यसकारण नगरपालिकाको चुनावमा पार्टीले अपेक्षित भोट प्राप्त गर्न सकेन र चुनाव पनि हा¥यो । मलाई समाजवादी पार्टीले पनि सांसदको टिकट दिएन । तत्पश्चात मलाई तत्कालिन राजपाले टिकट दियो । मैले चुनाव जितेर देखाईदिएँ । मलाई मेरो क्षेत्रका जनताले काम गर्नसक्ने मानिस यही हो भनेर बिश्वास पनि गरे । मैले लामो समयदेखि निरन्तर समाजसेवा र राजनीतिक बिजय हासिल गरेको रुपमा लिएको छु र यही कारण म निरन्तर रुपमा सफल पनि भइरहेको छु भन्ने लाग्छ ।
० यो उमेरमा पहिलो पटक तपाइंलाई मन्त्री बन्ने अवसर जुरेको छ, यसलाई कसरी लिनुभएको छ ?
– मैले आजका दिनसम्म राजनीतिबाट कुनै आर्थिकलाभ लिएको छैन र लिनु पनि छैन । मैले नै बरु उल्टै सामाजिक, राजनीतिक र समाजसेवामा सके जति योगदान दिइरहेको छु । लाभको लागि म राजनीतमा लागेको पनि होइन । यो उमेरमा मेरो राजनीतिको कदर गर्ने काम पार्टीबाट भएको छ । यसका लागि म जसपा, दलका शिर्ष नेता र प्रधानमन्त्रीलाई धन्यावाद दिन चाहान्छु । म यो मन्त्रालयमा जति दिन रहन्छु इमान्दारीपूर्वक काम गरेर देखाउने छु ।
० बिगतमा तपार्ईंले गरेका समाजसेवाका बारेमा बताइदिनुहोस न ?
– म बिगत ०१८ सालदेखि आजका दिनसम्म राजनीतिमा नै निरन्तर सक्रिय रहँदै आएको छु । पंचायतकालमा नै आफ्नै गाउँमा हाइस्कुल स्थापना गरे । स्कुल स्थापनाको लागि आवश्यक ४७ बिगाहा जमिन मैले निःशुल्क रुपमा उपलव्ध गराए । त्यसपछि पनि आवश्यकताअनुसार दिदै आएको छु । स्कुल स्थापनापश्चात कलेजको लागि ४ लाख नगद, स्कुल र कलेजका लागि गरी कुल ६३ बिगाहा जमिन दान दिएको छु । ०३३ सालमा बजार स्थापनाको लागि मैले जग्गा उपलव्ध गराए । कतिसम्म भने आफैले मालपोत तिरेर रजिष्ट्रेशन पास गरिदिए । प्रहरी चौकी, स्थापनाको लागि आठ कठ्ठा, नगरपालिका भवन निर्माण र यस वरपर जे जति भौतिक पूर्वाधारहरु बनेका छन ती सवै जग्गा मैले नै दिएको हुँ । आज यो क्षेत्रमा जे जति बिकास भएका छन् मेरै नेतृत्व र सक्रिय योगदानका कारण भएका छन् । म दावाका साथ भन्छु आजका दिनसम्म मैले दिएको मात्र छ, कसैसँग लिन र हात थाप्नु जानेको छैन ।
० मन्त्री हुने अवसर प्राप्त भएसँगै कस्तो महसुस भइरहेको छ ?
– मन्त्री हुँदा खुसी नहुने कुरै छैन । म खुशी नै छु । पहिलो पटक मन्त्री बन्ने अवसर जुराइदिएकोमा पार्टी र शीर्ष नेताहरुलाई मैले माथि नै धन्यवाद पनि दिइसकेँ । आजका दिनसम्म मैले मेरो पुख्र्यौैली सम्पत्ति दान गरेर राजनीतिलाई निरन्तरता दिदैं आएको हो । मैले यो मुलुकबाट कुनै आर्थिकलाभ लिनु छैन । मलाई भगवानले नै सवै कुरा पुर्याइदिएका छन् । यसकारण पनि म निस्वार्थ ढंगले जुन दिनसम्म मन्त्री पदमा रहुँला त्यसदिनसम्म मुलुकको हित र जनताको सेवामा लाग्ने छु । यो अवसर पटक–पटक आउला नआउला । तर अहिले पाएको अवसरलाई सकेसम्म उपलव्धीमुलुक र जनताको सेवामा लगाउने मेरो प्रयास हुने नै छ ।
० ०७४ मा भएको संसदीय चुनावमा बिजय हासिल गरेपछि मन्त्री बनिएला भन्ने कल्पना गर्नुभएको थियो ?
–म लामो समयदेखि राजनीतिमा निरन्तर रुपमा सक्रिय रहँदै सेवा गर्दै आएकै छु । मेरो यो निरन्तरताको कदर गर्दै मेरो क्षेत्रका जनताले चुनावमा भोट दिएर जिताएका हुन । बिगतमा मैले गरेको योगदानलाई उनीहरुले आधार मानेर सम्मानपूर्वक मतदान गरेको मेरो बुझाई छ । मैले जोर जर्वजस्ती नगरिकन पनि मलाई जनताले चुनावमा जनताले बिश्वास गरेका छन, यसलाई मैले मेरो कर्तव्य ठानेको छु र ठानिरहने पनि छु । जनताले मलाई जसरी बिश्वास गरेर यो अवस्थामा पुग्ने अवसर पाए यसको श्रेय मेरा मतदाताहरुलाई दिन चाहान्छु ।
० तपाईंको पारिवारिक जीवनको बारेमा पनि केही कुरा बताइदिनुहोस् न ?
– मेरा चार जना सन्तान छन् । दुई छोरा, दुई छोरी छन् ।