वैद्यको अवैध वाणी

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेशसभा बैठकमा शुक्रबार बोलेका कुराप्रति शनिबार बैठकमा आत्मालोचना गरेका छन् ।
शनिबारको वैठकमा उनले भने, ‘मैले बोलेको कुराले सामाजिक सञ्जालमा क्रियाप्रतिक्रिया धेरै भयो, आफूलाई लागेको कुरा संसदमा निर्धक्क बोल्न पाउने । पूर्ण वाक् स्वतन्त्रता हुने । कहीँकतै मुद्दामामिला, कारवाही नहुने प्रावधान भएको । सार्वभौम संसदमा आफूलाई लागेको कुरा दिल खोलेर बोल्न पाइन्छ । दिल खोलेर आफ्नो विचार राख्ने सिलसिलामा भाइरल भएको अवस्थामा मेरो पार्टीको समेत ध्यान आकर्षण भएको छ । पार्टीले आत्मालोचना गर्न निर्देशन दिएकाले आत्मालोचना गरेको छु । प्रधानमन्त्रीज्यूप्रति मेरो व्यक्तिगत रिसइबीको कुरा होइन । मैले असाध्यै आवेगमा आएर आवश्यकताभन्दा बढी नै स्वतन्त्रता उपभोग गरेको अनुभुति भयो । आफ्नो अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन अनुरोध गर्दछु ।’
काठमाडौं क्षेत्र नं. ४ क बाट बाग्मती प्रदेशसभामा निर्वाचित भएका वैद्यले शुक्रवारको प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले देश खाइदिने भएकाले आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।
वैठका मुड्की उचाल्दै वैद्यले भनेका थिए, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? म बन्ने कि ?’
नाथुराम गोड्से भारतीय स्वतन्त्रता अगूवा महात्मा गान्धीका हत्यारा हुन् । उनले सन् १९४८ को जनवरी ३० मा महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।
सांसद वैद्यले प्रधानमन्त्री ओलीको हत्या गर्ने आशयको अभिव्यक्ति दिएपछि सर्वत्र विरोध भइरहेको छ । सांसद वैद्यको अभिव्यक्ति पछि एमालेले विज्ञप्ति निकालेर भत्र्सना गरेको थियो भने उनले लिखित रुपमा माफी माग्नुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेको थियो । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन् ।
‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’ विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’
त्यस्तै सामाजिक सञ्जालमा पनि उनलाई कारवाही हुनुपर्ने माग भइरहेका बेला उनले प्रदेशसभा बैठकमा माफी मागेका हुन् ।
नेपालको संविधान अनुसार प्रदेशसभा बैठकमा बोलेको अभिव्यक्तिका आधारमा सांसदलाई पक्राउ गर्न र अदालतमा मुद्दा चलाउन पाइँदैन । नेपालको संविधानको धारा १८७(१) मा लेखिएको छ, ‘यस संविधानको अधीनमा रही प्रदेश सभामा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन ।’