के होला जसपा विवाद ?

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले भित्रको विवादलाई निरुपण गर्न नसकेको आरोप खेपिरहेको निर्वाचन आयोगले जनतासमाजवादी पार्टीको बिवाद कसरी गर्ला ? प्रतिक्षाको बिषय बनेको छ । आयोगले जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई आयोगमा लिखित जवाफ पेश गर्न केहीदिन अगाडि १५ दिनको समय दिएर पत्र पठाएको थियो । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले केही दिन अघि मात्र दलको अधिकारीकताको माग दावी गर्दै आयोगमा निवेदन दिएको छ । एक पक्षबाट माग दावी आईसकेपछि आयोगले अर्को पक्षसँग मागदावी पेश भएका कागज ल्याउन भनेको छ ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ मा विवादको निर्णय सम्बन्धी कार्यविधि छ । पार्टीको आधिकारिकता माग दावी गर्ने पक्षले केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षर सहित आयोगमा निवेदन दिनु पर्दछ । उपेन्द्र यादव पक्षले ५१ संसदीय कार्यकारीणी समितिमा रहेका ३० जनाको हस्ताक्षर सहित दलको आधिकारिकता आफुले पाउनु पर्ने माग दावी गरेको छ । आयोगले ऐनको कार्यविधि अनुसार नै विवाद निरुपण प्रक्रिया अघि बढेको बताएको छ ।
गएको माघ महिनामा तत्कालीन नेपाल कम्युनिष्ठ पार्टी भित्र चुलिएको विवाद पछि पुष्पकमल दाहाल र माधव नेपाल पक्षले आफुहरुसँग केन्द्रीय समितिमा बहुमत रहेको भन्दै हस्ताक्षरसहित दलको आधिकारिकताको माग दावी गर्दै आयोगमा निवेदन दिएका थिए । त्यसबेला आयोगले प्रक्रिया मै प्रवेश नगरेको भन्दै आयोग माथी नै प्रश्न उठाएका थिए ।
जनता समाजवादी पार्टीले पनि आफूहरु बहुमतमा रहेको भन्दै यादव पक्षले ऐनको दफा ४३ (ग) वमोजिम दलका पदाधिकारी केन्द्रीय समिति वा केन्द्रिय समितिको निणर्यको अधिकारिकताको निणर्य गरिदिन आयोगलाई आग्रह गरेको छ ।
उता ठाकुर पक्षले पाएको १५ दिनको समयमा आयोगलाई जवाफ दिन नभ्याउने भनेर पुन आयोग समक्ष माग गरेमा आयोगले १० दिनको म्याद दिने कानुनी व्यवस्था रहेको छ । त्यसपछि आयोगले दुवै पक्षलाई सहमति गर्ने अवसर पनि प्रदान गर्नसक्छ । यी सबै प्रक्रिया पुरा गर्न र जसपा भित्रको विवादको निरुपण हुन डेढ दुई महिना लाग्ने देखिन्छ । यादव पक्षले ठाकुर पक्षमा रहेका र सरकारमा सहभागी भएका व्यक्तिहरुलाई कारवाही गरिसकेकोले पनि तत्कालै जसपा अव एक हुन सक्ने सम्भावना न्युन हुदै गएको बताइन्छ ।