रेसुङ्गा नगरपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि ६१ करोड रकम बढीको बजेट प्रस्तुत गरेको छ । बिहिबार सदरमुकाम तम्घासको बालमन्दिरमा आयोजना गरिएको नगरसभामा नगरप्रमुख डिल्लीराज भुसालले आर्थिक वर्ष २०७८÷७९ का लागि रु ६१ करोड ९० हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमा कृषि तथा पशुपंक्षी पकेट क्षेत्र विस्तार, कृषिमा आधुनिकीकरण, संस्कृत तथा पर्यटन विकास, सहकारी तथा गरिबी निवारण र कोभिड–१९ प्रभावित अनुदानका लागि ४ करोड ७७ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो ।
भुसालले कोभिड संक्रमण न्यूनिकरण, स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला बालबालिका तथा समाज कल्याण, खानेपानी तथा सरसफाइ र समावेशी विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फ रू २५ करोड २२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो ।
स्थानीय पूर्वाधार, सडक यातयात, सहरी विकास, सञ्चार, र वैकल्पिक उर्जाका लागि रू १८ करोड २ लाख, ५० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो । विपद् व्यवस्थापन, प्रकोप व्यवस्थापन, फोहोर मैला व्यवस्थापन र वन तथा भू–व्यवस्थापन तर्फ १ करोड १८ लाख, मानव संसाधन विकास, संस्थागत क्षमता विकास, लेखा प्रणाली, सूचना प्रविधि प्रयोग, सेवाको मापदण्ड निराकरण समन्वय र सहकार्य तथा तथ्यांक व्यवस्थापन, कर्मचारीहरूको तलव भत्तातर्फ रू १२ करोड २ लाख ७४ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो ।
नगरसभामा उप–प्रमुख सीता भण्डारीले रेसुङ्गा नगरपालिकाको चालु आर्थिक वर्षको आर्थिक तथा विनियोजन विधेयक र न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समिति संयोजक हरिलाल पन्थीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नगरसभा अध्यक्ष तथा नगरप्रमुख भुसालले रेसुङ्गा नगरपालिकाको चालु आर्थिक वर्ष ०७८÷७९ को विनियोजन विधेयक अध्ययनका लागि असार २३ गते साँढे ११ बजे बैठक बस्ने गरी आजको नगरसभा स्थगित गर्नुभएको छ । नगरप्रमुख भुसालले प्रस्तुत गर्नुभएको नगरको बार्षिक नीति तथा कार्यक्रम भने सर्वसहमतीका साथ नगरसभाद्वारा पास गरिएको छ ।