अमेरिकाबाट भोलि १५ लाखलाई पुग्ने खोप आउँदै

काठमाडौं । अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने कोभिड १९ विरुद्धको खोप निःशुल्क दिने भएको छ । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले अबको केही दिनमा नै खोप नेपाल आइपुग्ने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्– ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड १९ खोप निःशुल्क उपलब्ध गराउँदैछ । नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुसीको क्षण हो । अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने छ ।”
कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई दिने भनेको कोरोनाविरुद्धको जे एन्ड जे भ्याक्सिन सोमबार नेपाल ल्याइने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले अमेरिकाले अनुदान दिने १५ लाख डोज खोप सोमबार आइपुग्ने जानकारी दिएका हुन् ।
डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकन सरकारले कोभ्याक्समार्फत अनुदानमा नेपाललाई दिन लागेको १५ लाख जे एन्ड जे भ्याक्सिन आगामी सोमबार बिहान काठमाण्डु आइपुग्ने भएको छ । यूएस सरकार तथा पहलकर्ता सबैलाई धन्यवाद ।’
थप खोप ल्याउन सरकारले पहल गरिरहेको जानकारी पनि उनले दिएका छन् । जोनसन एन्ड जोनसनको खोप एक डोज लगाए पुग्ने बताइएको छ ।