असारे बिकास

सम्पादकीय

असारे बिकास अर्थात आर्थिक वर्षको अन्तयमा सरकारी रकमको दुरुपयोग गर्नेक्रम अझसम्म पनि रोकिएको छैन । हरेक वर्ष आर्थिक वर्षको आखिरी समयमा यस्ता बिषय उठान हुन्छन अनि पानीको फोका सरह हराउँछन । साउन पछिका नौ महिनामा अर्थात चैत्रसम्म कामै नगर्ने र बैशाखपछि हतार हतार बिकास निर्माणका काममा तिब्रता दिने परम्परा अहिले पनि कायमै छ । हरेक वर्ष सरकारले सार्वजनिक गर्ने बजेट ढिला आउनु पनि प्रमुख कारण मानिन्थ्यो छ । असार महिनाको अन्तिम हप्तामा बजेट सार्वजनिक गरिने परम्परालाई तोडेर जेठमा बजेट ल्याउँदा पनि यस्ता गतिबिधि कायमै छन । यसअघिका वर्षहरुमा असारमा बजेट प्रस्तुत हुने र सम्वन्धित निकायमा असोज महिनामा पुग्ने गर्दथ्यो । तर अहिले त्यसमा संशोधन भएको छ । ०७२ सालमा जारी संबिधानमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक बाध्यतात्मक व्यवस्था गरिएको छ ।
जेठमा बजेट सार्वजनिक भएपनि संसदको दुवै सदनबाट पारित गर्न समय लाग्दा साउनमा मात्र सम्वन्धित निकायहरुमा पुग्ने गरेको छ । यद्यपी यो वर्ष बजेट ल्याउनु अघि नै संसद बिघटन भएकोले अध्यादेशमार्फत सरकारले बजेट ल्याएको थियो । यसकारण संसदमा छलफल गर्नै परेन । तरपनि अहिलेसम्म बजेट सरकारी निकायहरुमा पुग्न सकेको छैन । साउन पछि मात्रै बजेट पुग्ने र कार्यक्रम बनाउँदा भदौ महिना बित्छ । असोज, कात्तिकमा दशैं तिहार जस्ता मुख्य चाडवाडको सिजन भएकोले मंसिर अगाडि ठेक्का सुचना निस्कन सक्दैन । पुष र माघ महिनामा सुचना निस्किएर संझौता हुँदा काम शुरु हुन फागुन चैत लाग्छ । जव वर्षात् शुरु भइसक्छ, तव बिकास निर्माणका कामले तिब्रता पाउन थाल्छ । काम हुने भनेको मुख्य समय बैशाख, जेठ र असार । अनि कसरी हुन्छ बिकास । झन यसपाली त जेठको अन्तिम साताबाटै नेपालमा मनसुन प्रवेश ग¥यो । चाहिने भन्दा वर्षात हुँदा जताततै बाढि, पहिरो गयो । राजमार्गहरु अवरुद्ध हुन पुगे । राजमार्ग संचालन नहुँदा यातयातका साधन चल्न पाएनन । निर्माण सामाग्री ढुवानीमा पनि समस्या भयो । झन औषत् भन्दा बढी बर्षात् हुँदा निर्माणका काम रोकिए ।
‘जव राती, तव बुढी’ भन्ने उखानसँग मेल खाने गरी यतिवेला सरकारी बजेटको दुरुपयोग गर्ने काम भइरहेको छ । जताततै सडक खन्ने काम गरिएको छ । हिलो ठाउँमा ग्राभेल बिच्छाउने देखि पीच गर्ने चटारो पनि यही बेलामा भएको छ । जसो गरेपनि असारे बिकासमा कमी आउन सकिरहेको छैन । यो कुरा सरकारमा बसेका मन्त्री, राजनीतिक दल, तिनका नेता, सांसद र सरकारी निकायका कर्मचारीलाई पनि थाहा नहुने कुरै छैन । तर उनीहरु थाहा पाएर पनि मौन बसेका छन । जनताले तिरेको कर रकम सदुपयोग भन्दा पनि बढी दुरुपयोग भएको छ । भ्रष्टाचार रोक्ने निकायहरु यस बिषयमा चुँ सम्म बोल्दैन । किन यसो भइरहेको त भन्दा हामीमा पुरानै सोच र मानसिकता रहेकोले परिवर्तन हुन नसकेको हो ।