थप २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौँ उपत्यकामा संक्रमणदर बढ्दै

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । सोमबार दुई हजार ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
थप सात हजार ५८ जनाको पिसिआर परीक्षण तथा तीन हजार ९५४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ६३९ तथा एन्टिजेनबाट ७५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख २३ हजार १०५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७८ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
काठमाडौँ उपत्यकामा ५८७ सङ्क्रमित थपिए
पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको छ । उपत्यकाको निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाको लहर बढेको हो ।
काठमाडौँ उपत्यकामा पछिल्लो समय ५८७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४१०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
१२ सङ्क्रमितको मृत्यु
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ ।