१० वुँदे सहमति कार्यान्वयनका लागि एमालेमा दोस्रो तहका नेताहरु सक्रिय

काठमाडौं । नेकपा एमालेलाई एकताका लागि भएको दश बुँदे सहमति कार्यान्वयनका लागि पार्टीका दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो ।
सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उनीबाहेक अरु नेता गल्ती कमजोरी स्वीकार गरेर आए मात्र पार्टीमा स्थान दिने बताएपछि एकता विथोलिने खतरा देखिएको छ । पार्टीलाई एकतावद्ध गर्नका लागि बनेको १० वुँदे सहमति कार्यान्वयनका लागि दोस्रो तहका नेताहरु सक्रिय भएका हुन ।
ओलीले शुक्रबार संसदीय दलको बैठक समेत बोलाएका छन् ।
वैठकमा माधव समूहका नेताहरुलाई पनि बोलाइएको छ । शुक्रबार बोलाइएको संसदीय दलको बैठक रोकेर एकताको सन्देश दिएपछि मात्र वैठक बस्नुपर्नेमा दुबै पक्षका दोस्रो तहका नेताहरुका साझा मत छ ।
सहमति भाँडिने खतरा बढेपछि दुबै समूहका दोस्रो तहका नेताहरुले आज अनौपचारिक छलफल गरेका हुन् । एमाले सचिव गोकर्ण विष्टले कार्यदलले गरेको दश बुँदेमा टेकेर एकता जोगाउन अरु नेताहरुबीच पनि सम्वादमा चलिरहेको बताएका छन् ।