अध्यादेशबाट आयो लुम्बिनीको बजेट
बुटवल । प्रदेश सभामा बजेट पास गर्न विपक्षीले अवरोध गरेपछि बिहीबार अधिवेशन अन्त्य गरेर लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।
प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गर्नु भएको हो ।
असार १ गते प्रदेश सभामा पेश गरेको बजेट जस्ताको तस्तै अध्यादेशमार्फत ल्याइएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताउन् भएको छ ।
सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो । जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । प्रकृयामा गइसकेको बजेटलाई बिचैमा अलपत्र पारेर अध्यादेशबाट बजेट ल्याए सशक्त प्रतिवाद गर्ने घोषणा विपक्षी दलहरुले बिहीबार नै पत्रकार सम्मेलनमार्फत गरेका थिए ।
गण्डकी सरकारले मार्सल लगाएर वजेट पारित गराएको थियो भने कर्णाली प्रदेश सरकारले बिहीबार अध्यादेशबाट बजेट ल्याएको थियो ।