तीन कोइरालाको ‘लञ्च मिटिङ’

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई केन्द्रमा राखेर नेताहरु दौडधुप चलिरहेको छ । सभापतिका आकांक्षी दर्जन बढी नेता देखिएका छन् भने अन्य पदमा आकांक्षी पनि दिनप्रतिदिन बढ्दै गएका छन् । विशेष गरेर सभापतिका आकांक्षीहरुबीच छलफल भइरहेको छ भने आआफ्नो गुटमा पनि छलफल चलिरहेको छ ।
वर्तमान सभापति देउवाले पुनः सभापति हुने घोषणा गरिसकेका छन् भने उनकै गुटबाट विमलेन्द्र निधिले पनि सभापतिमा दावी पेश गरेका छन् । त्यस्तै रामचन्द्र पौडेल विगतदेखि नै सभापतिका दावेदार छदैछन् । उनको गुटबाट त झन आधा दर्जन भन्दा बढी नेताले सभापतिमा आकांक्षा राखेका छन् । अर्जुनरसिंह केसी, रामशरण महतलगायतका नेताले पनि सभापतिमा दावी गर्दै आएका छन् । कतिपय नेताहरुले सभापतिको आकांक्षा देखाएर महामन्त्री र उपसभापतिको वार्गेनिङ गरेको पनि बताइएको छ ।
नेपाली कांग्रेस भन्ने वित्तिकै कोइराला परिवारको सम्झना नेता, कार्यकर्ताहरुले गर्ने गरेका छन् । अहिले कोइराला परिवारबाट मात्रै तीन जना नेताले सभापतिको दावी गरिरहेका छन् ।
१४ औं महाधिवेशनमा कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापतिको दावी गरेका छन् ।
कमसेकम पनि कोइराला परिवारबाट एक जना मात्र सभापतिको उम्मेदवार हुनुपर्ने उनीहरुका शुभेच्छक नेता, कार्यकर्ताले बताइरेका बेला कोइराला परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास शुरु भएको बताइएको छ ।
हिजो दिउँसो शशांक निवास महाराजगञ्जमा शेखर, शशाक र सुजाताबीच खानासहितको बैठक गरेका छन् । वैठकमा पार्टीको १४ औं महाधिवेशन महाधिवेशन कसरी गराउने, बाढी पहिरो र कोरोना महामारीको समस्या बाट जनतालाई कसरी वचाउने र भर्खर बनेको सरकारका बारेमा छलफल भएको बताइएको छ ।
नेतृ सुजाताले भनिन्, ‘हाम्रो लञ्च मिटिङ भइराख्छ । हामी एकदमै मिलेका छौं । हामीहरूको बीचमा एकता छ । हामीहरुले सबै मिलेर नै जाने हो । कोइराला परिवारमा झगडा छ भन्ने हल्ला गर्छन् । त्यस्तो केही छैन । हामीबीच एकदमै समझदारी, सद्भाव र माया छ । हामी सबै संघर्ष गरेर आएको राम्रो पक्ष छ ।’
महामन्त्री कोइरालाले आफूहरुबीच सहमतिमा एउटा मात्रै उम्मेदवार बन्ने बताउँदै आएका छन् । शेखरले भने आफू कुनै पनि हालतमा पछि नहट्ने अडान लिँदै आएका छन् ।
यसअघि उपसभापति निधिकै पहलमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच तीन पटक छलफल भएको थियो । कांग्रेस संस्थापक नेताहरु वीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्र नेतात्रयबीच सर्वसम्मत उम्मेदवार तय गर्न आलोपालो तीनै नेताका निवासमा छलफल भएको थियो तर उनीहरुबीच नेतृत्वमा सहमति हुन भने सकेको छैन ।
शेखर कोइरालाले आफू एक पटक सभापति बन्न चाहेको बताउँदै आएका छन् । उनले पार्टीको ठूलो युवापंक्तिले आफूलाई सभापतिमा देख्न चाहेको दावी पनि गरेका छन् । उनले आफू नेतृत्वमा आए युवाहरुलाई पार्टीमा आकर्षित गर्न सक्ने दावी पनि गरेका छन् । पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने र युवाहरुलाई आकर्षित नगरी पार्टीले पुरानो विरासत फर्काउन नसक्ने उनको दावी छ । एउटै व्यक्ति नेतृत्वमा दोहोरिन नहुने बताउँदै शेखरले प्रधानमन्त्री होस् वा मन्त्री वा कुनै पनि पदमामा आफू नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गर्दै आएका छन् ।