राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नु भएको छ । सरकारको सिफारिसमा उहाँले आज अध्यादेश खारेज गर्नु भएको हो ।
परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
केपी ओली नेतृत्वको सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।
संवैधानिक परिषद् अध्यादेश दुई पटक जारी भएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा त्यस सम्बन्धी अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेपछि विवाद बढेको थियो । पुनःस्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकमा उक्त अध्यादेश पेस गर्न खोज्दा नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-माधव पक्षले त्यसको विरोध गर्दै सदन अवरुद्ध र बहिष्कार गरेको थियो ।
पछि २१ वैशाखमा पुनः राष्ट्रपतिबाट सो अध्यादेश जारी गरिएको थियो । अध्यादेश र त्यसपछि विभिन्न संवैधानिक निकायमा गरेका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ ।