विश्वकै सानो २३ महिनाको गाईको वजन ५७ पाउन्ड मात्र
बंगलादेशमा विश्वकै सबैभन्दा सानो ठानिएको गाई हेर्नेको घुँइचो लाग्न थालेको छ । वासिङ्टन पोस्टका अनुसार यो गाई दुई फिटभन्दा सानो छ । यसलाई कुकुर, सानो बच्छाबाच्छीले पनि नाघ्न सक्छन् ।
यो गाई चरिग्रामको एउटा गाई फार्ममा जन्मिएको थियो । फार्म संचालक काजी मोहम्मद अबु सुफियानका अनुसार यो गाईको नाम रानी हो र यो यतिबेला बंगलादेशभर चर्चित बनेको छ ।
उनले आफ्नो गाई विश्वकै सानो गाई भएको दाबी गर्दै अब गिनिस बुक अफ वर्ल्ड रेकर्डमा यो गाईलाई सानो घोषित गर्न निवेदन दिने बताएका छन् ।
यो २० इन्च अग्लो गाई २३ महिनाको भएको छ । यसको लम्बाई २७ इन्च हो भने यसको वजन ५७ पाउन्ड हो । सन् २०१४ मा भारतको २४ इन्च अग्लो गाईलाई विश्वकै सानो गाई घोषणा गरिएको थियो । अब रानी नै विश्वको सानो गाई बन्ने निश्चित देखिएको छ ।