देउवालाई मोदीको वधाई, कोरोना खोप छिट्टै दिने आश्वासन

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वधाई तथा शुभकामना दिएका छन् । हिजो देउवाले संसदमा विश्वासको मत पाएसँगै ट्वीटमार्फत वधाइ दिएका मोदीले आज टेलिफोन गरेर नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।
टेलिफोन कुराकानीमा देउवा र मोदीबीच नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने र कोरोना महामारीविरुद्ध मिलेर लड्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारत सरकारले केपी ओली नेतृत्वको सरकार हुँदा नेपाललाई ११ लाख डोज कोरोना खोप अनुदानमा दिएको थियो । त्यस्तै ओली सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटसँग २० लख डोज खोप खरिद गरेको थियो । जसमध्ये ५ लाख डोज मात्र पाएको छ ।

विगतमा प्रधानमन्त्री नियुक्त भएकै दिन भारत र चीनले नेपालका प्रधानमन्त्रीलाई वधाई दिँदै आफ्नो देश भ्रमणको निम्तो दिने गरेका थिए । तर मोदीले देउवा प्रधानमन्त्री भएको झण्डै एक हप्तापछि वधाई तथा शुभकामना दिएपनि भ्रमणको निम्तो भने दिएका छैनन् । त्यस्तै चीनका प्रधानमन्त्रीले हालसम्म पनि वधाई तथा शुभकामना दिएका छैनन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीले भने केही दिनअघि भेटेर प्रधानमन्त्री देउवालाई वधाई दिनुका साथै १६ लाख डोज कोरोनाविरुद्धको खोप दिने बताएकी थिइन् ।