‘देउवा सरकार टालाटुली बटुली, कति राम्री पुतली’

माधव नेपाल गद्दार, प्रचण्ड शिथिल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘टालाटुली बटुली, कति राम्री पुतली’ को संज्ञा दिएका छन् ।
आजबाट शुरु भएको केन्द्रीय कमिटीको १० औं पूर्ण बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले देउवाले पाएको विश्वासको मतलाई कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको आरोप पनि लगाए ।
ओलीले भने ‘देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली, कति राम्री पुतली भन्ने खालेको हो ।’
काँग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने पार्टी भएको आरोप लगाउँदै ओलीले भने – ‘देउवा सरकारले अब सत्ताको दुरुपयोग गरी एमालेमाथि सम्भाव्य षड्यन्त्र र आक्रमण अनुमान गरेका छौं, जनविरोधी काम शुरु गर्छन् ।’
त्यस्तै आफ्नै पार्टीका नेताहरुमाथि पनि ओलीले कटाक्ष गरेका छन् । आफ्ना पार्टीका २२ सांसदले प्रधानमन्त्री देउवालाई मत दिनु पार्टीका लागि शर्मनाक भएको बताएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताउँदै ओलीले नेता नेपालले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको आरोप लगाएका छन् । उनले दोर्याए ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत हुने छैन ।’
पार्टी एकता कार्यदलका नेताहरुलाई नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको प्रसंग कोट्याउँदै ओलीले भने, ‘अपराध गर्ने, आफ्नै पार्टीको सरकार ढाल्ने अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’
त्यस्तै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी भएको र अहिले शिथिल भएको पनि बताए । एमालेको प्रतिपक्षी भूमिकाबारे ओलीले आवश्यक परे सशक्त प्रतिवादमा उत्रन निर्देशन पनि दिएका छन् ।