स्थापनाको २४ वर्षमा एनआईसी एसिया बैंक

कर्जा तथा निक्षेप खाता २८ लाख नाघ्यो

काठमाडौँ । एनआईसी एसिया बैंक स्थापनाको २४ वर्षमा प्रवेश गरेको छ। सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ सुरु भएकोे बैंक देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटीएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा उत्कृष्ट बैंक बन्न सफल भएको बैकले जनाएको छ।
२४ वर्षसम्ममा आइपुग्दा बैंकका ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखारहित बैंकिङ्ग सेवा तथा ४ सय ७१ एटीएममार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ।
बैंकका हालसम्म २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरु पुगेका छन्।
यो अवधिमा सेयरधनीलाई लगानीमा उच्चतम प्रतिफल प्रदान गर्न सफल भएको बैंकको दाबी छ। बैंकको सर्वसाधारण सेयरधनीको सुरुवाती एक कित्ता पब्लिक सेयरको मूल्य हाल १३ हजार ६ सय ६२ पुगेको छ।
यो भनेको सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो। हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष दुवै गरी १५ अर्ब ७३ करोडभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको बैंकको भनाइ छ।
पछिल्लो समय कोभिड–१९बाट सृजित असहज परिस्थितिमा समेत बैंकले आ.व. २०७७÷७८ मा कर्जातर्फ ५२ प्रतिशत (८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (८८ अर्ब ९६ करोड) वृद्धि गर्न सफल भएको जनाएको छ।
कर्जा तथा निक्षेप वृद्धिमा हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै भएको बैंकको दाबी छ।
आ.व. २०७७/०७८ मा समग्र बैंकिङ्ग क्षेत्रतर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न बैंक सफल भएको छ।
२४ प्रतिशतसम्म पैसा फिर्ता योजना
यसैबीच, बैंकले २४औँ वर्ष प्रवेशको अवसरमा बैंकले ग्राहकमाझ विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना समेत ल्याएको छ।
यसअन्तर्गत बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी पस तथा इ–कमर्समा भुक्तानी गर्दा तथा एनआईसी एसिया मोबैंकमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म क्यासब्याक योजना प्राप्त गर्न सकिनेछ।
वार्षिक उत्सवको अवसरमा बिहीबार कार्ड वा एनआईसी एसिया मोबैंकबाट कारोबार गर्ने पहिलो एक हजार ग्राहकले यो सुविधा पाउने बैंकले जनाएको छ।
बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकोले आ.व. २०७८÷७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिएको उल्लेख गरेको छ।