आममाफीले पनि एमाले मिल्ने छाँट देखिएन

संसदीय मर्यादा नाघ्नेलाई एक घण्टा भए पनि निलम्बन गर्नुपर्छ : घनश्याम भुसाल

काठमाडौं । एमालेको केन्द्रीय कमिटीले पार्टी एकताको सर्वाधिकार अध्यक्ष केपी ओलीलाई सुम्पेको छ । ओलीले पार्टी एकतालाई कायम राख्न विगतका त्रुटीलाई क्षमा दिने घोषणा गर्दै माधव नेपाल समूहलाई पार्टीमा आउन आग्रह गनि गरेका छन् । तर एकता प्रक्रिया लम्विन्छ कि विभाजित भएर टुंगिन्छ भन्ने आशंका प्रवल बनिरहेको अवस्था छ ।
बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले बाटो बिराएकाहरू (माधव नेपाल पक्ष) लाई पार्टीमा फर्किए आममाफी दिन सकिने बताएका हुन् ।
उनले आन्दोलनलाई जीवित राख्न, यसलाई मजबुत पार्न र विजय यात्रामा कसैले रोक्न नसक्ने दावी पनि गरेका छन् । उनले को कहाँ रह्यो भन्ने कुरा छोडेर जनता र पार्टी एकताका कुरा गर्नुपर्ने बताएका छन् ।
‘आज यस दिनमा बाटो विराएका भड्किएका साथिहरूलाई पनि म भन्छु, पुष्पलाललाई सम्झिएर भन्न चाहान्छु यो पार्टीको एकताका लागि जे सुकै भएको होस्, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, –सबैलाई एम्नेष्टी इज ग्रान्टेड’ ओलीको भनाइ छ ।
तर ओलीको यो लचकतालाई माधव नेपालले कमजोरीका रुपमा विश्लेषण गरेको देखिन्छ । उनले आममाफी दिने पार्टी अध्यक्ष ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् । उनले ओलीप्रति व्यंग्य गर्दै भनेका छन् ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरूलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं !’
‘महाराजधिराज खुशी हुनुभएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिष्ट पद्धति भनिन्छ ?’ उनले थपे ।
आफ्नो पार्टीको नेतृत्वको सरकार ढाल्न अर्को पार्टीका नेताको पक्षमा हस्ताक्षर गर्ने, विश्वासको मत दिने नेताहरूलाई माफी दिन नहुने र एक दिन भएपनि कारवाही गर्नुपर्ने पार्टीमा माग भइरहेका छ । तर नेता नेपालले भने आफूहरूलाई स्पष्टीकरण सोध्नु गल्ती भएकाले अध्यक्ष ओलीले स्वीकार गर्नुपर्ने बताएका छन् ।
ओलीतर्फ संकेत गर्दै नेता नेपालले बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको टिप्पणी गरेका छन् । यसले गर्दा उनी एमाले एकताको पक्षमा छैनन् भन्ने प्रष्ट भएको उनी पक्षका नेताहरूले नै विश्लेषण गर्न थालेका छन् ।
एमालेका नेता, कार्यकर्तामा देखिएको चरम अविश्वास, ध्र्रु्रवीकरण र अन्योलले एमालेको राजनीति मात्र होइन, नेपालको राजनीतिलाई कता लैजान्छ भन्नेमा अनेक विश्लेषण हुँदैछ । प्रायः सबैको निचोड छ, कलह र मनोमालिन्यले केपी ओली र माधव नेपाल दुवैलाई अप्ठ्यारो परिस्थितिमा पुर्याएको छ ।
समाधान खोजिरहेको तेस्रो धार पनि तटस्थ देखिदैन । ओली र नेपालको अन्तरात्माको आवाज बेलाबखत वैठकमा राखेर ‘मेलामिलापको प्रयत्न’ गर्नेहरू सबै इमानदार देखिएनन् । उनीहरू सम्झौता गर्दा आफ्नो भागमा धेरै परोस र हात माथि होस भन्ने मनस्थितिमा छन् ।
घरको कलह मिलाउन एमालेको ‘अभिभावक’ देखिएन । ओली–नेपाल–खनाल जस्ता शिखर व्यक्तिको टक्करले एमालेमा मेलमिलाप कसले गराउने भन्ने देखिएको छ । कतिपय राष्ट्रमा बीचमै महाधिवेशन गरेर दलका कार्यकर्ताले नयाँ नेतृत्व छानेका छन् । यो वैधानिक बाटो भएकाले लोकप्रियताको परीक्षा र आन्तरिक जनमतसंग्रह पनि हो ।
नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवलाई समर्थन गर्ने माधव नेपाल पक्षमाथि एकताको नाममा छुट दिइएमा भविष्यमा रोग बल्झिरहने र अर्को फौजमा मिसिएर द्रोह गर्नेहरू झन उन्मुक्त हुने केही नेताहरूको टिप्पणी छ ।
संसदीय मर्यादा नाघ्नु गल्ती भएको एमालेका उपमहासचिव तथा माधव पक्षका नेता घनश्याम भुसालले स्वीकार गरेका छन् । उनले आफूलाई एक घण्टा भए पनि निलम्बन गरी कारवाही गर्नुपर्ने बताएका छन् । आफूले बाध्यकारी अवस्थामा संसदीय मर्यादा नाघेको र पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीको विवाद मिलिसकेपछि एक दिन वा एक घण्टा भएपनि आफूलाई निलम्बन गर्न माग गरेका हुन् ।
भुसालले आफूमाथि कारवाही हुनुपूर्व पहिले पार्टी एक हुनुपर्ने बताएका छन् । केपी ओलीले संसद विघटन गर्नु गल्ती थियो भनेर आत्मालोचना गरेको अवस्थामा पार्टी मिलिसकेपछि संसदीय मर्यादा नाघ्नेमाथि थोरै भए पनि कारवाही हुनुपर्ने उनले बताएका छन् ।
भुसालले भने झै कार्वाहीलाई ‘सांकेतिक’ मात्र बनाएर भएपनि एकताको प्रयत्न गरिएमा त्यो त्यति घातक नहोला तर पार्टीमा सदैव एकता भइरहने कुनै प्रत्याभूति गर्न सकिने अवस्था भने छैन ।