मन्त्री छान्न प्रचण्डलाई सकस, मानसिक तनावमा परेपछि आकांक्षीप्रति आक्रोश
काठमाडौं । जनादेशको सरकार फालेर परमादेशको सरकार बनाउने वातावरण तयार पार्न महत्वपूर्ण भूमिका खेलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला मन्त्री छनौटको सकसमा छन् । पार्टीका ४९ जना सांसदहरू मन्त्रीको आकांक्षी हुँदै मन्त्री बनाउन दबाब दिन थालेपछि आफू तनावमा परेको प्रचण्डले स्वीकार गरेका छन् ।
आफूलाई मन्त्री बनाउन भन्दै पार्टीका सबै सांसदको दबाब आएको बताएका छन् । त्यस्तै उनले मन्त्री मन्त्रीका आकांक्षीहरूप्रति आक्रोश समेत पोखेका छन् । कम्युनिष्ट यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गरेपनि मन्त्री पाइन्छ कि पाइदैन भन्ने सानो चित्तका नेता भएको पनि आरोप लगाएका छन् ।
उनले भनेका छन्–“हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ । या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ । तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु । मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ । हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ ।”
अहिले पद चाहिने संस्कृति विकास हुँदै गएको बताउँदै प्रचण्ढले नरबहादुर कर्माचार्य जस्तै कहिल्यै पनि पदको पछि नलाग्ने नेता आवश्यक रहेको बताए । कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले भने –“कर्माचार्य सरल, सहज र निःस्वार्थ भावको नेता हुनुहुन्थ्यो, उहाँसँगै छलफल गरेर हामीले जनयुद्धको थालनी गरेका थियौ ।”